कैलाली: थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ । थारु समुदाय सम्बद्ध थारु कल्याणकारिणी सभा लगायतका सङ्घ संस्थाले गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै आज ज्ञापनपत्र बुझाएका छन् ।
यो समुदायले भोलि भदौ ४ गते गुरही पर्व मनाउँदैछ । नाग पञ्चमीका दिन तराईवासी थारु समुदायले गुरही पर्व मनाउने चलन रहेको छ । बालबालिकासँग सम्बन्धित गुरही पर्वमा बालबालिका रमाउने गरेको र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न आवश्यक देखिएकाले गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गरिएको थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए। उनले विगत वर्षदेखि नै बिदा माग गर्दै आएपनि गुरही पर्वको बिदा नदिँदा प्रदेश सरकारले थारु समुदायलाई उपेक्षा गरेको महसुस भएको उल्लेख गरे ।
थारु समुदायको गुरही लगायतका अरू पर्वको बिदा कार्यतालिकामै उल्लेख हुनु पर्ने सङ्घ संस्थाको माग छ । हरेक थारु गाउँमा मनाइने गुरही पर्वलाई धनगढीमा २०६७ सालबाट संस्थागत रूपमा मनाउने गरिएको छ । यस वर्षको पर्वको अवसरमा धनगढी उपमहानगरपालिका–८ स्थित चौकमा गुरहीको मूर्ति पनि शिलान्यास गरिने जनाइएको छ ।
यो पर्वमा कपडाको गुरहा गुरही (गाईने किरा) बनाएर सार्वजनिक ठाउँ वा चौबाटोमा सेलाउने चलन छ । जसलाई गुरही अस्रैना भनिन्छ । बालिका वा केटीहरूले भुईँमा गुरही फाल्ने र बालक वा केटाहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै त्यसलाई सोंता वा लट्ठीले ठटाउने चलन रहेको छ । गुरही पर्व मनाउनाले बालबालिका रोगव्याधीबाट जोगिने विश्वास छ । यो पर्वको अवसरमा केही पालिकाले स्थानीय बिदा दिएका छन् ।