नरेश राना/कञ्चनपुरः कञ्चनपुरमा मोहना र दोदा नदीमा पानीको बहाव बढ्दा १ सय भन्दा बढी घर डुबानमा परेका छ्न ।
सोमबार चुरे क्षेत्रमा परेको अविरल वर्षाका कारण चुरे भएर बग्ने मोहना र दोदा नदी वस्तीमा छिरेको हो । दोदामा पानीको बहाव बढ्दा पुर्नवास नगरपालिका -५ सिम्री स्थित रानावस्तीका ६० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार सिम्री क्षेत्रमा डुबानमा परेका मानिसहरुको उद्दार कार्य जारी रहेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक राम प्रसाद अवस्थिको कमान्डमा खटिएको टोलीले उद्दार गरिरहेको छ ।
दोदा नदीको पानी सिम्री क्षेत्रमा पस्दा बेलौरी धनगढी सडक अबरुद्ध बनेको छ । धनगढी -बेलौरी हुलाकी सडकखण्डमा पानी भरिदा आवतजावतमा समस्या आएको छ ।
यस्तै कृष्णपुर नगरपालिका -७ शान्तिटोलमा मोहना नदिको पानीको बहाव बढ्दा ५०/६० घर डुबानमा परेको छ ।
अहिले पानीको बहाव घटिरहेकोले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलिले कृष्णपुर नगरपालिका -१ ओदाली खोलामा फसेका २ जनाको उद्दार गरेको छ ।
मध्यरात १२ बजेपछि कृष्णपुर नगरपालिका -१ बस्ने ३३ वर्षीय तारा भुल र उनकी श्रीमती ३५ वर्षिय सीता भुललाई उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।