नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मछेली नदीको धार परिवर्तनका लागि खर्च गरेको बजेट बालुवामा पानी हाले जस्तै भएको छ  । नगरपालिकाले गत आर्थिक वर्ष २०७९।८० मा नदी कटान रोक्न नदीको धार परिवर्तन गर्ने योजना कार्यान्वयन गरेको थियो । जस अन्तर्गत मछेली नदीको (डोण्डा पुल) उत्तर पट्टी खोला सफा गरिएको छ । नदीलाई मध्य भागबाट बगाउन पालिकाले त्यहाँको खोलामा रहेको ग्राभेल हटाएको छ । जसका लागि नगरपालिकाले १० लाख रुपैयाँ खर्च गरेको बताइन्छ । तर वर्षात सुरु भएसँगै मछेली नदी बस्तीतिर नै बगेको छ । कृष्णपुर नगरपालिका–२ को मुक्त कमैया बस्ती नदी कटानको उच्च जोखिममा रहेको छ । नदी बस्ती भएरै बग्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदी पुरानै धारमा बग्न थालेपछि स्थानीयले धार परिवर्तनका लागि गरिएको खर्च औचित्यहीन भएको बताएका छन् ।


श्रोतका अनुसार नगरपालिकाले योजना टुक्राएर कोटेसनमार्फत तटबन्ध निर्माण र नदीको धार परिवर्तनका लागि लाखौँ बजेट खर्च गरेको हो । नगरपालिकाले नदीको बहावको वैज्ञानिक अध्ययन नै नगरी हचुवाका भरमा धार परिवर्तनको नाममा बजेट खर्च गरेको स्थानीयको आरोप छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा पनि नदीको धार परिवर्तन गरेको र उक्त योजना प्रभावकारी नहुँदा पुनः सोही योजनामा लाखौँ बजेट खर्च गर्ने काम भएको स्थानीयले आरोप लगाएका छन् । अघिल्लो आर्थिक वर्षमा पनि धार परिवर्तनको नाममा बजेट खर्च गरिएको बताउँदै एक स्थानीयले भने ‘अघिल्लो वर्ष पनि धार परिवर्तनको योजना प्रभावकारी भएन, त्यसबाट सिक्नुपर्नेमा गत वर्षमा पनि बजेट सक्ने काम भयो । तर नदी बस्ती तिरै बगेकाले बाढी आउँदा बस्ती सधैँ जोखिममा पर्ने गरेको छ ।’

त्यस्तै स्थानीय हर्क महतले नदीका कारण बस्ती सधैँ जोखिममा रहेको बताए । उनले नदीको धार परिवर्तनको योजना प्रभावकारी नभएको भन्दै तटबन्ध निर्माण गरिनुपर्ने माग राखेका छन् ।
कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउदले उक्त योजना नगरपालिकाबाटै कार्यान्वयन गरिएको बताए । उनले नगरपालिकाबाट काम भएकाले योजनाबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे । त्यस्तै कृष्णपुर नगरपालिकाको योजना तथा प्राविधिक शाखाले जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अनुसार काम गरेको जनाएको छ । पालिकाका एक कर्मचारीले समितिको सिफारिसमा १० लाखको कोटेसनमार्फत योजना सम्पन्न गरिएको बताए । उनका अनुसार नगरपालिकाले नदीको धार परिवर्तनका लागि करिब १२ सय मिटर खोला खनेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले मितव्ययिता नअपनाई मनोमानी तरिकाले खर्च गरेको आरोप लागेको छ । नदीको धार परिवर्तन गर्ने योजनामा पनि बजेट अनुसार काम नभएको भन्दै  स्थानीयले आशङ्का व्यक्त गरेका छन् ।

सेयर कर दियो ।