नरेश राना/कञ्चनपुर: कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य वीर बहादुर थापा (पातल) ले सुदूरपश्चिम प्रदेश सरकारले हालै सार्बजनिक गरेको आव ०८०/०८१ को बजेटप्रति असन्तुष्टि जनाएका छन्। 


सोमबार प्रदेश सभा सदस्य थापाले आफ्नै निर्वाचन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेश सरकारको बजेट प्रति तीव्र असन्तुष्टि जनाएका हुन।
प्रदेश सभा सदस्य थापाले प्रदेश सरकारले आव २०८०/०८१ को बजेट मन्त्रीमुखी भएको आरोप लगाए। ‘यो बजेट समानुपातिक र समाबेशी तवरले आएको छैन,’ प्रदेश सदस्य थापाले भने,’ ‘मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ, अन्यमा सम्बोधन नै गरिएको छैन।’
प्रदेशमा ८८ पालिका रहेको तर ८७ पालिकाको जति बजेट एकै पालिकामा बिनियोजन गरिएको उनको आरोप छ।
प्रदेश सरकारको यस्तो बजेटले पछाडि परेको वर्गलाई अगाडि बढाउन नसक्ने थापाले बताए। प्रदेश सरकार जनताको समस्याबाट भागिरहेको उनको दाबी छ।

प्रदेश सरकार सीमा क्षेत्रका नागरिकलाई हेपिरहेको थापाले बताए। ‘सीमा क्षेत्रका समस्याबारे सरकार बोल्दैन, सीमा क्षेत्रका जनताकाबारे बजेटमा कुनै सम्बोधन गरिएको छैन,’ उनले भने।
नेकपा (एमाले) ले प्रदेश सरकारको खबरदारी गरिरहने थापाले बताए । ‘प्रतिपक्षीको दायित्व सरकारको खबरदारी गर्नु हो, सरकारले जसोतसो गरेर बजेट पास ग-र्यो,’ थापाले भने,’ ‘बजेट सच्याएर पास गर्न नेकपा एमालेले खबरदारी गरेकै हो, सदनमा पनि गरिरहन्छ, आवश्यकता परे जनतासँग सडकमै उत्रिएर आन्दोलन गर्ने छ।’