कञ्चनपुर/ ४, कार्तिक। नेकपा (एमाले) का जिल्ला सहइन्चार्ज तथा संविधान सभा सदस्य हुन्, कृपाराम राना। रानाथारु सामुदायलाई आदिवासी जनजाति समूहमा सूचीकृत गराउन महत्वपूर्ण भूमिका खेलेका उनी मंसिर ४ गते हुने निर्वाचनमा कञ्चनपुरको क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट उम्मेदवार छन्।
उनको क्षेत्रमा बेदकोट नगरपालिकाका ९ वडा र शुक्लाफाँटा नगरपालिकाका ८ वडा पर्छन्। उनी यहीँ क्षेत्रमा चुनावी प्रचारप्रसारमा होमिएका छन्।
रानाले जनताका लागि के गरे?
छुट्टै आदिवासी जनजाति समूहको रुपमा सूचीकृत नहुँदा नेपालमा आफूहरुको पहिचान नै नरहेको रानाथारु समुदायको गुनासो रहने गरेको थियो।
नेपाल रानाथारु समाजका अध्यक्षसमेत रहेका कृपाराम रानाले संविधान सभा सदस्य भएपछि सबैभन्दा पहिला यहीँ मुद्दा उठान गरे।
रानाथारु समुदायको पहिचानका लागि संसदमा बोल्ने पहिलो ब्यक्ति पनि हुन्, उनी।
०७० सालमा संविधान सभा सदस्य भएपछि उनी रानाथारुलाई सूचीकरण गर्नुपर्ने माग राख्दै संसदमा बोलेका थिए।
‘देशभर रानाथारु समुदायलाई चिनाउने काम गरेको छु,’ उनले भने, ‘संविधान निर्माणका लागि बिभिन्न समितिहरुमा बसेर पनि काम गरे, पहिलो पटक धारा १८ र ४८ मा थारु समुदायलाई स्थापित गराउने काम गरियो।’
नेपालमा कञ्चनपुर र कैलालीमा मात्रै यो समुदायको बसोबास छ।
रानाथारु समुदायलाई सूचीकरण गराउन संसदमा बोल्नेदेखि विभिन्न मन्त्रालय धाएको उनले बताए।
‘मन्त्रालयहरुमा गएर रानाथारु समुदायबारे छलफल ग-र्यौं, धेरै पटक डेलिगेसन गयौं, २०६४ सालमा पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुनुभयो, उहाँलाई कुरा राख्यौं, त्यसपछि माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो, २०७० सालमा सुशिल कोइरालासँग पनि कुरा राख्यौं,’ उनले भने, ‘यसरी पटक–पटक कुरा राख्दा समेत सूचीकरण भएन्, २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो, २०७६ सालमा डेलिगेसन गयौं, रानाथारा समुदायको माग सम्बोधन भयो।’
रानाथारु समुदायलाई चिनाउने कामसँगै पूर्वाधार निर्माणमा पनि उनको भूमिका छ।
‘विकास निर्माणका थुप्रै काम गरेको छु, शुक्लाफाँटा र बेदकोटमा पुलहरु निर्माण भएका छन्,’ उनले भने, ‘शुक्लाफाँटाको सुनवरा नदीमा पुल, बेदकोटमा पथरिया खोला, वडा नं. ३ र ४ जोड्ने पुल, दैजी–जोगबुढा सडकमा पुल निर्माण भएको छ।’

उनले कलुवापुर–बेलौरी सडक निर्माणका लागि ४२ करोड बजेट विनियोजन गराएका थिए। ‘सडक डिभिजन कार्यालयबाट आफैँ फाइल लगेर अर्थ मन्त्रालयबाट बजेट छुट्याउन लगाएको थिए, त्यसपछि सडक निर्माणका लागि ठेक्का भयो,’ उनले भने।
संविधान सभा सदस्य हुँदा बेदकोट र शुक्लाफाँटामा खानेपानीका योजना निर्माण गरेको उनले बताए।
‘अहिले खानेपानीका योजनाहरु सम्पन्न हुने चरणमा छन्, त्योसँगै राजमार्गबाट चथरी जाने सडक कालोपत्रे गराए,’ उनले भने, ‘सामादैजी देखि चौरी, दैजीदेखि छेला जोड्ने सडक पनि कालोपत्रे गर्ने काम भयो, मेरै पहलमा भम्का जाने सडक निर्माण भएको छ।’
शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको उनको भनाई छ। ‘बैजनाथ माविलाई नमूना विद्यालय बनाउन सरकारबाट निर्णय गर्न लगाए, त्यो विद्यालय गुणस्तरीय शिक्षा दिइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा पनि थुप्रै काम गरे, पिपलाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिएको थिए, त्यो अहिले सञ्चालनमै छ।’
पिपलाडीमा १५ सैया र दैजीमा अस्पताल निर्माणका लागि पहल गरेको उनले बताए। ‘पिपलाडीमा भवन निर्माण भइरहेको छ, दैजीमा अस्पताल निर्माणका लागि ठेक्का भएको छ, त्यो काम अगाडि बढेको छैन्, त्यसलाई अगाडी बढाउनुछ,’ उनले भने।
यस्ता छन् एजेण्डा
दैजी छेला औद्योगिक क्षेत्रलाई अगाडी बढाउने उनको प्रमुख एजेण्डा छ।
‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शिलान्यास त भयो, सरकार ढलेपछि यो गठबन्धनले काम अगाडी बढाएन्,’ उनले भने, ‘त्यहाँ २२ हजार बढीले रोजगारी पाउँछन्, समृद्धिको ढोका खोल्ने औद्योगिक क्षेत्र हो, यहीँ रोजगारी, उत्पादन गर्न सकिन्छ, त्यसैले यसलाई अगाडि बढाउनुपर्छ, यसैलाई प्रमुख एजेण्डा बनाएको छु।’

त्यहाँसम्म ४ लेनको सडक, नदी कटानी रोकथाम, शुक्लाफाँटा र बेदकोटमा १५ सैयाँको अस्पतालको निर्माण गरी सेवा दिने उनको भनाई छ।
बेदकोट र शुक्लाफाँटामा चक्रपथ निर्माणलाई पनि उनले प्राथमिकता दिएका छन्।
‘चक्रपथ यहाँको लाइफलाइन हो, यहाँ उत्पादन हुने सामानको बजारीकरण गर्न सकिन्छ, गाउँबस्तीमा पनि सुविधा पुग्छ,’ उनले भने, ‘यहाँ जंगली जनावरको पनि आतंक छ, त्यसको न्यूनिकरण गर्ने मेरो योजना छ।’
यसरी तानिए राजनीतिमा
२०४८ सालमा उनी बैजनाथ मावि (तत्कालिन प्रावि) मा कक्षा ५ मा पढ्थे।
विद्यालयबाट घर फर्किदा उनले एउटा भाषण सुने। देशमा प्रजातन्त्र आएपछि भइरहेको आम निर्वाचनलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमलाई प्रेमसिंह धामीले सम्बोधन गरिरहेका थिए।

त्यतिबेला राना राजनीति बुझ्दैन थिए। तर पनि उनले धामीको भाषण सुनिरहे। धामीलाई चिन्दैन् थिए।
उनले २०५१ सालमा धामीलाई मन्त्री भएपछि मात्रै चिनेका हुन्। ‘सानैदेखि जानि नजानि राजनीतिमा आकर्षित भइयो, स्वर्गीय नेता प्रेमसिंह धामीको भाषण सुनेपछि राजनीतिक कार्यक्रमहरुमा गइराख्थे,’ उनले भने, ‘त्यसपछि २०४९ को निर्वाचनमा जाने, नेताहरुका भाषण सन्ने र प्रचारप्रसारमा लागियो।’
उनी कक्षा ८ मा पढ्दा विद्यार्थी संगठनमा जोडिए। त्यहाँ उनले राजनीति सिके। त्यसपछि शिक्षण पेशासँगै उनले शिक्षक संगठनमा नेतृत्व गरे।
उनी २०५७ सालदेखि ०७० सालसम्म शिक्षण पेशामै रहे। त्योसँगै अप्रत्यक्ष रुपमा राजनीतिमा पनि सक्रिय बनिरहे। २०६८ सालमा पार्टीको जिल्ला कमिटीको जिम्मेवारीमा बसे। त्यसपछि २०७० सालमा उनी संविधान सभा सदस्य भए।
त्यसपछि उनलाई पार्टीले स्थानीय तह विभागको जिम्मेवारी दियो। २०७२ सालमा प्रदेश कमिटी सदस्य हुँदै अहिले केन्द्रीय सदस्य र कञ्चनपुर सहइन्चार्ज छन्।
कञ्चनपुर क्षेत्र नं. २ को प्रदेशसभा २ बाट उम्मेदवार रहेका राना अहिले चुनावी प्रचार अभियानमा जुटेका छन्।






