धनगढी, ०३ कार्तिक । धनगढी उपमहानगरपालिकाले ६८ वर्षमाथिका नागरिकलाई मुक्तिनाथ धाम यात्रामा पठाएको छ। उपमहानगरले हरेक तीर्थयात्रा गर्न चाहने व्यक्तिको छनोट गरी एक सय २४ जनालाई मुक्तिनाथ दर्शनमा पठाएको हो।

उपमहानगरपालिकाले ५ दिनको प्याकेज बनाएर मुक्तिनाथ यात्राका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै सर्वसाधारण नागरिकलाई तीर्थ यात्रामा पठाएको हो। वृद्ध वृद्धालाई निःशुल्क स्वास्थ्य सेवा र वर्षमा एक पटक तीर्थयात्रा गराउने योजनाले निरन्तरता पाउने उपमहानगरपालिकाको दाबी छ।

उपमहानगरपालिकाले आफ्नो घोषित कार्यक्रम अन्तर्गत वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गर्न पठाएको हो। उपमहानगरले स्वास्थ्यकर्मी र समाजिक सेवा इकाइका कर्मचारीसहित एक सय २४ जनालाई निःशुल्क मुक्तिनाथ धामको पाँच दिने यात्रामा पठाएको छ।मुक्तिनाथ धामको दर्शन गर्ने अवसर पाएकोमा निकै खुसी भएको बलबहादुर विष्टले बताए। ‘तीर्थयात्रा गराउने धनगढी उपमहानगरको धेरै राम्रो काम हो, म धेरै खुसी भएको छु,’ उनले भने, ‘डाक्टर, नर्स र सहयोगीसहित मुक्तीनाथ दर्शन गर्न जाँदै छौँ, यो धेरै राम्रो काम हो।

‘ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार भएको महसुस गराउन र उनीहरूप्रति सम्मान दर्शाउन उपमहानगरपालिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिएको छ। उपमहानगरले बढ्दो उमेरमा व्यक्तिमा आध्यात्मिक अभिरुचि बढ्ने भएकाले निश्चित मापदण्ड बनाएर यो वर्ष ६८ वर्षमाथिका वृद्धवृद्धालाई तीर्थयात्रामा लैजान सबै वडाबाट छनोट गरिएको बताइएको छ।

उपमहानगरले पहिलोपटक तीर्थयात्रामा जाने अवसरले खुसी बनाएको नन्दमाया पोखरेले बताइन्। ‘पहिलो पटक तीर्थयात्रा गर्न जाँदै छु निकै खुसी लागेको छ,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकाको यो काम राम्रो लाग्यो।’ धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारी जो यो वर्ष सेवा निवृत्त हुँदैछन्, उनीहरूलाई पनि मुक्तिनाथ धामको यात्रामा सहभागी गराइएको छ। तीर्थयात्रा गर्न पाएकोमा निकै खुसी लागेको टेकबहादुर खड्काले बताए। ‘मुक्तीनाथ जान पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘यो कामका लागि नगरपालिकालाई धन्यवाद दिन्छु।

‘धनगढी उपमहानगरपालिकाले वृद्धवृद्धाको सम्मान व्यक्ति, परिवार, समुदाय र राज्यले पनि गर्नुपर्ने नीति अनुसार धर्मकर्ममा ध्यान जाने उमेरमा पुगेका नागरिकलाई सम्मान स्वरुप तीर्थयात्रा गराउने नीति लिएको बताएको छ। तीर्थ यात्रामा लैजाने काम उपमहानगरको स्वीकृत कार्यक्रम अन्तर्गत भएको नगरप्रमुख गोपाल हमालले बताए।

‘धनगढी उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यो वर्ष ६८ वर्षमाथिका नागरिकलाई मुक्तिनाथ दर्शनमा लगिएको हो,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा र धार्मिक यात्रामा सरिक गराएर सम्मान गर्ने कार्यले निरन्तरता पाउनेछ।’ वृद्धवृद्धालाई मुक्तिनाथ यात्रा गराउँदा लाग्ने सम्पूर्ण खर्च उपमहानगरले व्यहोर्ने छ। यात्राको संयोजन र सहयोग गर्ने जिम्मा भने धनगढीको लक्ष्मीनारायण मन्दिरले लिएको छ।