दिनेश राना/धनगढी, असाेज २९ । पदभार ग्रहण गरेको १४२ दिन पछि कृष्णपुर नगरपालिकाले आज पहिलो औपचारिक पत्रकार सम्मेलन आयोजना गरेको थियो । ‘शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन र उद्योग–आत्मनिर्भर कृष्णपुरमा स्रोतको सदुपयोग’ भन्ने मूल नाराका साथ यस कृष्णपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगर कार्यपालिका, शाखा प्रमुख ज्यूहरु, विभिन्न राजनैतिक दल, बुद्धिजीवि, संघ संस्थाका प्रमुख ज्यूहरुसँगको राय सल्लाह र सुझाव अनुसार कृष्णपुर नगरपालिकाले २०७९÷०८० को वार्षिक बजेट १,१३,९३,२४,९७१.५४ अक्षरेपी एक अरब छ करोड चौरानब्बे लाख १० हजारको वार्षिक बजेट शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलाई मध्यनजर गरी तयार गरिएको छ ।

उक्त पत्रकार सम्मेलनमा वडा नं. ५ गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई चौबिसै घण्टा निशुल्क सेवा उपलब्ध गराउन एम.बि.बि.एस. डक्टर सहितको स्वास्थ्यकर्मीको टिम उपलब्धका साथै आयुर्वेदक औषधालय पनि निशुल्क रहेको जानकारी कृष्णपुर नगरपालिकाका मेयर श्री हेमराज ओझाले बताउनु भयो । साथै उहाँले बिरामीहरुलाई कैलाली र कञ्चनपुरका अस्पतालहरुमा रिफ गर्दा नगरपालिकाको एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको, बाँके, कैलाली रेडक्रससँग समन्वय गरी निःशुल्क रगतको व्यवस्था गरिएको, बर्थिम सेन्टर लगायत प्रयोगशाला सेवा निःशुल्क सञ्चालनमा रहेको कुरा पनि अवगत गराएका थिए ।
कृष्णपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर प्रभावकारी बनाउन सबै विद्यालयहरुको निरीक्षण गरी विद्यालयका विभिन्न समस्याको पहिचान गरि शैक्षिक स्तर वृद्धिका लागि नगरपालिकाले प्रयास गरेको, सबै विद्यालयमा शिक्षक दरबन्धी मिलान गरी निमावि र आधारभुत विद्यालयमा पनि प्र.अ. का साथै अन्य दरबन्दी मिलान गरिने र मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको कुरा पनि उहाँले बताउनु भयो ।


कृषीको समस्या कृष्णपुरमा मात्रै नभई सम्पुर्ण देशमै भइरहँदा उहाँले सहकारी संस्थासँग समन्वय गरी मलखाद तथा बिउ बिजनमा अनुदानको व्यवस्था नगरपालिकाले गरेको, किसानहरुको पहिचान गरी वडा नं. १ बाट किसान परिचय पत्र वितरण कार्य शुरु गरिएको कुराको पनि उहाँले जानकारी दिनुभयो ।


कृष्णपुर नगरपालिका भित्र रहेका नौ ओटै वडामा लामो समयदेखि अव्यवस्थित बसोबासको समस्या समाधानको लागि सुकुम्बासी समस्या समाधान आयोगसँग समन्वय गरी जग्गा नाप जाँच गरिएको, वडा नं. ४ मा जग्गा नाप जाँचको कार्य सम्पन्न भएको, वडा नं. १,२,९ मा नापी कार्य जारी रहेको, वडा नं. ७ र ८ मा अव्यवस्थित सेतो जग्गाधनी प्रमाण पुर्जालाई वैधानिकता दिने कार्य जारी रहेको, जग्गा नापजाँच गर्ने क्रममा छिटो छरितो गर्नका लागि प्रति कित्ता ४५० का दरले निजि क्षेत्रलाई दिइएको जानकारी दिनुभयो ।
कृष्णपुर नगरपालिकामा छाडा चौपाया व्यवस्थापनको लागि प्रत्येक वडामा गौशाला निर्माण गर्ने र तत्कालको लागि सुरुवात गरिएका वडाहरु ४ र ५ रहेका छन् ।
नागरीकाहरुको सुरक्षाको लागि नगरका विभिन्न वडाहरुमा अस्थायी प्रहरी बिटको स्थापना गरिएको छ । इलाका प्रहरी कार्यालय गुलरीयालाई छिट्टै क श्रेणीको ईलाका प्रहरी कार्यालय बनाइने प्रतिबद्धाता पनि मेयरले जनाउनुभयो ।
मेयरसापले कृष्णपुरमा विकास निर्माणका कामहरु पनि तिब्र गतिमा भइरहेको र सडक, बाटाहरुमा रहेका खाडलहरुमा बर्खायाममा पानी जम्मा भई आवतजावतमा अवरुद्ध हुने हुँदा प्रत्येक वडाहरुमा नगरपालिकाको साधन स्रोत प्रयोग गरी ग्राभिल जम्मा गरी खाडल पुरेको, नगरपालिकाले जे.सी.बी. प्रयोग गरी नाली सरसफाई गरेर डुवान समस्या हटाउने कामको थालनी, वडा नं. १,२,३,७,८ का नदिहरुमा जैविक तटबन्धन गरिएको जानकारी दिनुभयो ।