धनगढी,२२ बैशाख २०७९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न कसैको सामथ्र्य नरहेको बताएका छन्।
उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न कसैले नचिताए हुन्छ बताए।
धनगढीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेको शक्ति देखेर डराएर पाँचदलीय गठबन्धन बनेको बताए।

उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनको हाल बेहाल हुन्छ, पत्तासाप हुन्छ, एक दलले अर्को दललाई आरोप लगाउँछन् अनि गठबन्धन खत्तम हुन्छ।’
उनले विश्वमा कहीँ नभएको परमादेशको सरकार नेपालमा बनेको, त्यसको ठेगान पनि चुनावबाट लगाउनुपर्ने बताए।
उनले भने, ‘मेरो ६५ वर्षको अध्ययनमा विश्वमा जहाँ पनि संसदले सरकार बनाउने हो तर नेपालमा जाल, झेल र षड्यन्त्र गरी परमादेशबाट सरकार बन्यो त्यसको बदला वैशाख ३० गते हुने निर्वाचनमा एमालेका पक्षमा मतदान गरी दिनुपर्छ।’

माधव नेपालप्रति खरो विरोधमा उत्रिएका ओलीले नेकपा एकीकृत समाजवादीलाई एमालेबाट चोइटिएर गएको माकुने गुटको संज्ञा दिए।
उनले भने, ‘एमालेलाई २० वर्षसम्म चुसेका माधव नेपाल एमालेलाई आगामी निर्वाचनबाट टर्च बालेर खोज्नुपर्छ भन्दै छन् रे, त्यो त वैशाख ३० पछि थाहा हुन्छ।’
ओलीले माधव नेपालले सधैँ अपमान भयो भन्ने गरेको उल्लेख गर्दै अहिले कांग्रेसले गठबन्धनको सभामा समेत बोल्न नदिएर अपमान गरेको भन्दै व्यंग गरे।

त्यस्तै, कांग्रेस नेत्री डाक्टर आरजु राणा देउवा र माओवादी नेत्री बिना मगरलाई लक्ष्य गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘कसैकी श्रीमती र बुहारी आएर झुट बोले पनि अब सुदूरपश्चिमका जनता सचेत भइसकेका छन्, झुट बिक्दैन।’
एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले आफूले प्रकाशन गरेको चुच्चे नक्सासमेत हटाउन खोजेको आरोप लगाए। आफ्नो सरकारका पालामा गरेका विकास निर्माणबारे पनि चुनावी सभामा ओलीले सुनाए।