शुक्लाफाँटामा बाघ गणनाका लागि स्वचालित क्यामेरा जडान

२९ माघ २०७८, शनिबार
शुक्लाफाँटामा  बाघ गणनाका लागि स्वचालित क्यामेरा जडान

कञ्चनपुर,२९ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरामार्फत बाघ गणना सुरु गरिएको छ । शनिबारदेखि निकुञ्जसहित आसपासका वन क्षेत्रमा बाघ गणना सुरु गरिएको निकुञ्जले जनाएको छ। त्यसका लागि शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरिएकाे छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार महतोले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गर्न लागिएकाे बताए। उनका अनुसार बाघ गणनाका लागि दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर दुई सय ६० ग्रिट विभाजन गरिएको छ। निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हीरापुर, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुराअन्तर्गत आलिताल, नाउला र चिरकोटम गरी ११ स्थानमा क्याम्प रहनेछन्।

तीन सातामा बाघ गणना हुनेछ। ११ क्याम्पमध्ये निकुञ्जभित्र ९५ ग्रिटमा १९० क्यामेरा, लालझाडी–ब्रह्मदेव क्याम्पमा एक सय सात ग्रिटमा दुई सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा जोगबुढामा ५८ ग्रिटमा एक सय १६ क्यामेरा जडान भएका छन्। रहेक ग्रिटमा एक जोडी क्यामेरा १५ दिनसम्म सञ्चालन हुनेछ। बाघ सर्वेक्षणका लागि कुल पाँच सय २० क्यामेरा, ७० जना प्राविधिक र पाँच हात्ती परिचालन हुनेछन्।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ। शुक्लाफाँटामा ६८.०४ आहारा प्रजातिको घनत्व छ।रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio