सोनाहा जातीको सूचिकरणको सवालमा प्रदेश प्रमुख शेरचन र पूर्व साँसद श्रीपाईलीको टोली द्वारा प्रधानमन्त्री देउबाको ध्यानाकर्षण

२०७८ पुष २४, शनिबार २०:४३
सोनाहा जातीको सूचिकरणको सवालमा प्रदेश प्रमुख शेरचन र पूर्व साँसद श्रीपाईलीको टोली द्वारा प्रधानमन्त्री देउबाको ध्यानाकर्षण

काठमाडाैँ, २४ पुस । अल्पसंख्यक सोनाहा जातीको पूर्ण पहिचान, सूचिकरण एंव अधिकारका सवालमा प्रधानमन्त्री शेर वहादुर देउबालाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएको छ ।

शनिबार प्रधानमन्त्री देउबालाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र संविधानसभा सदस्य एंव सामाजिक अभियन्ता हरि श्रीपाईली नेतृत्वको संयुक्त टोलीले अल्पसंख्यक सोनाहा जातीको पहिचान,सूचिकरण,आर्थिक सामाजिक,शैक्षिक र साँस्कृतिक सवाल र संबैधानिक रुपमै अधिकार सुनिश्चितताका सवालमा ध्यानाकर्षण गराएको हो ।

टोलीसंगको भेटमा प्रधानमन्त्री देउबाले सोनाहा जातीको सूचिकरण र अधिकारको सवालमा आफूले सम्बन्धित निकायसंग छलफल पहल गर्ने बताउनुभयो । प्रदेश प्रमुख शेरचन र पूर्वसांसद श्रीपाईली नेतृत्वको टोलीमा प्रतिनिधि सभा सदस्य सन्त कुमार थारु,राजापुर नगरपालिका नगर प्रमुख शिव प्रसाद चाैधरी,साेनाहा बिकास समाजका अध्यक्ष शान्ति साेनाहा,नेपाल साेनाहा संघर्ष समितिका अध्यक्ष बल बहादुर साेनाहा,राधा सोनाहा लगायत १५ जनाको सहभागीता रहेको थियो ।

संविधानमा सबैको पहिचान समेटिदा अल्पसंख्यक सोनाहा जाती सूचीकरण हुन बाट छुटेपछि उनीहरुको संबैधानिक अधिकारको सवालमा केही वर्ष देखि पूर्व साँसद श्रीपाईली निरन्तर कृयाशिल रहदै आउनुभएको थियो । जस अनुरुप दुई महिना अघि बर्दियामा पहिलो पटक अल्पसंख्यक सोनाहा जातीको बृहत सम्मेलन भएको थियोे ।

कैलाली,कंचनपुर र बर्दियामा गरि ३ जिल्लामा करिब १२०६ जना मात्रै अल्पसंख्यक सोनाहा जातीको जनसंख्या रहेको पूर्वसांसद हरि श्रीपाईलीले जानकारी दिनुभयो ।