नरेश राना , १९असोज। कंचनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ नन्द गाउँमा रहेको १० शैयाको लालझाडी आधारभूत अस्पताल तथा शंकरपुर आयुर्वेद औषधालयको नव निर्मित भवनको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
कार्यक्रमको सभापति लालझाडी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टिकाराम डगौरा, प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, बिशिष्ट अतिथि लालझाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष मदन सेन बडायक, गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, अतिथि स्वास्थ्य कार्यालयका प्रमुख दीपेन्द्र रावल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपाने लगायत,कार्यपालिका सदस्य, वडा सदस्य, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी,राजनीति दलका प्रतिनिधि, संचारकर्मीको सहभागिता रहेको थियो।कार्य्रकममा स्वागत मन्तव्य लालझाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आशाराम रानाले राख्नुभएको थियो।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले अस्पताल निर्माण सम्पन्न गर्न अहोरात्र खटिने सम्पूर्ण निकाय, जनप्रतिनिधि, कर्मचारी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकले आफ्नै पालिकामा विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रमा पनि लालझाडीले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशमै स्वास्थ्य सेवाको क्षेत्रमा पालिकाले उल्लेख्य प्रगति गरेको दाबी गर्दै अब आफ्नै पालिकामा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न सक्षम भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै निवर्तमान गाउँपालिका अध्यक्ष मदन सेन बडायकले आफ्नो कार्यकालमा शिलान्यास गरिएको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आउनु खुसीको विषय भएको बताउनुभयो। संघीयता कार्यान्वयनसँगै जनताको सहभागिता र करबाट निर्माण भएका संरचनाबाट जनताले गुणस्तरीय सेवा पाउनुपर्ने उहाँको भनाइ थियो।लालझाडी भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकाले आफ्नो कार्यकालमा पालिकाको विकासका लागि सक्दो पहल गरेको उल्लेख गर्दै बडायकले पालिकाले दीर्घकालीन योजना बनाएर विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। अस्पतालमा आवश्यकताअनुसार दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउँदै उहाँले विकास र सामाजिक रूपान्तरण कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सबैको हातेमालो आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने शंकरपुर आधारभूत विद्यालयप्रति आभार व्यक्त गर्नुभयो। नन्दगाउँमा आधारभूत अस्पताल निर्माण भई सञ्चालनमा आउनु पालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।अध्यक्ष रानाका अनुसार निर्माण कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा करिब एक वर्षअघि नै अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। अस्पतालका लागि आवश्यक उपकरण उपलब्ध भए पनि दक्ष चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभाव रहेको बताउँदै उहाँले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने जानकारी दिनुभयो।उहाँले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पालिकाको प्राथमिकता रहेको बताउनुभयो।कार्यक्रममा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने विद्यालय तथा अस्पताल भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा लालझाडी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टिकाराम डगौराले अस्पताललाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।लालझाडी गाउँपालिका वडा नम्बर ३नन्दगाउँ निर्माणधिन भवन रुद्रावती निर्माण सेवाले बनाएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले गर्नुभएको थियो।







