काठमाडौं । गत भदौ १० गते रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–३ का तीन श्रमिकको तत्काल खोजी तथा उद्धार गर्न परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सम्पर्कविहीन हुनेमा कालु राना, ऋकेस राना र रिकेश राना रहेका छन्। उनीहरू रसुवास्थित पावर चाइना कम्पनीअन्तर्गत माथिल्लो त्रिशूली–२१६ जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार उनीहरू भदौ १० गते बिहान करिब ७ बजे जलविद्युत् आयोजनाबाट काम सकेर फर्किएका थिए। त्यसपछि बिहान करिब ८ बजे परिवारसँग फोनमा कुराकानी भएको थियो। फोनमा कुराकानी भएपश्चात् भने उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।
बाढीपछि तीनै जना सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था पत्ता लगाउन परिवारजनले निरन्तर पहल गरिरहेका छन्। यसैक्रममा बेपत्ता तीनै श्रमिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी धर्मराज उप्रेतीसँग भेट गरी खोज तथा उद्धारका लागि अनुरोध गरिएको छ।
बेपत्ता व्यक्तिका पारिवारिक सदस्य नन्दकिशोर राना र शान्ति कुमारी राना, सोही क्षेत्रका माननीय कृपाराम रानाको समुन्वय र सहयोगमा प्राधिकरणका कार्यकारी धर्मराज उप्रेती तथा सम्बन्धित निकाय सित भेटघाट तथा सकुशल उद्दार तथा खोजीका लागि अनुरोध गरिएको हो।
भदौ १० गते रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका तीनै श्रमिकको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारजन थप चिन्तित बनेका छन्।
परिवारले राज्यका सम्बन्धित निकायलाई खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै सम्पर्कविहीन तीनै जनाको अवस्था यथाशीघ्र पत्ता लगाई परिवारलाई जानकारी गराउन आग्रह गरेको छ।
तीनै जनाका परिवारजन उनीहरू सकुशल भेटिने आशामा छन्। परिवारले विपद्को अवस्थामा राज्यका सबै सम्बन्धित निकाय, सुरक्षा निकाय तथा उद्धार टोलीलाई खोजी कार्यमा थप सक्रिय हुन अपिलसमेत गरेको छ।







