काठमाडौ । नेपाल रानाथारु युवा समाजद्वारा आयोजित ‘तीजको शुभकामना आदानप्रदान तथा झुड्की छिरान कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
पूर्वमन्त्री तथा माननीय पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रानाथारु युवा समाजका अध्यक्ष कमल रानाले सभापतित्व गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव अनिल रानाले गर्नुभएको थियो।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, अग्रज नेतृत्व, पत्रकार तथा रानाथारु समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एक–अर्कामा तीजको शुभकामना आदानप्रदान गर्दै रानाथारु समुदायको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए।
कार्यक्रममा रानाथारु समुदायको मौलिक सांस्कृतिक परम्परा र पहिचानलाई पुस्तान्तरण गर्दै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइएको थियो।
नेपाल रानाथारु युवा समाजले समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै युवा पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रम सफल बनाउन उपस्थित भई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने समाजसेवी, बुद्धिजीवी, अग्रज नेतृत्व, पत्रकार मित्रहरू तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति नेपाल रानाथारु युवा समाज केन्द्रीय समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।







