२०८२ साउन ९ गते धनगढीमा सम्पन्न संघको चौथो अधिवेशनबाट अध्यक्षसहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। यस क्रममा संघको अध्यक्षमा कविता काव्य (कैलाली) चयन हुनुभएको हो।

यसैगरी, उपाध्यक्षमा सुनिता चौधरी (सानु), सचिवमा राजुराज चौधरी, सहसचिवमा बालमोती चौधरी र कोषाध्यक्षमा लक्ष्मी राना चयन हुनुभएको छ। सदस्यहरूमा शेखर दहित, कृष्ण चौधरी (समर्पण), मनमति बखरिया र कालुराम चौधरी चयन भएका छन्।

संघका संरक्षकमा डा. कृष्णराज सर्वहारी, सल्लाहकार संयोजकमा छविलाल कोपिला तथा सल्लाहकारहरूमा जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा र नरेशलाल चौधरी रहनुभएको छ।

स्मरणीय छ कि २०८२ चैत २१ गते धनगढीमा संघको चौथो अधिवेशन उद्घाटन भई बन्दसत्रबाट सहमति हुन नसकी स्थगित गरिएको थियो। त्यसपछि अध्यक्ष पदका उम्मेदवार सुनिता चौधरी (सानु) उपाध्यक्षमा बस्न सहमत भएपछि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

थारू लेखक संघ नेपालले २०७३ सालदेखि प्रत्येक वर्ष विभिन्न जिल्लामा थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। २०८२ माघमा पर्सा जिल्लाको सुगौली पटेर्वा गाउँपालिकाको बेलवा गाउँमा दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो। आगामी २०८३ माघमा चितवनमा एघारौँ थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने तय भएको छ।

सेयर कर दियो ।