नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं. ४ मा रहेको ईटाहा मेला हुने स्थानदेखि दक्षिणतर्फ घर लिप्ने माटो निकाल्ने क्रममा एक महिलाको ज्यान गएको छ भने अर्की एक महिला घाइते भएकी छन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १२ निवासी ३८ वर्षीया हर दुलिय रानाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार घर लिपपोतका लागि माटो निकाल्ने क्रममा अचानक माथिबाट माटो खस्दा उनी पुरिएकी थिइन्। घटनापछि स्थानीयवासीले तत्काल उद्धार प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
उक्त घटनामा सुन्द राना नाम गरेकी अर्की महिला घाइते भएकी छन्। घाइते रानाको एक खुट्टा भाँचिएको बताइएको छ। उनलाई स्थानीयको सहयोगमा उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको जनाइएको छ।
घटनापछि स्थानीयवासी तथा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा घर लिप्ने माटो निकाल्ने कार्य भइरहेका बेला अचानक माटोको ढिस्को खस्दा दुर्घटना भएको हो। घटनाले गाउँभर शोकको वातावरण छाएको छ।







