धनगढी, चैत ९ गते , ज्ञानु राना ।

कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले “चराँई पर्व” धुमधामका साथ मनाउने गर्छन्। यो पर्व होलीको उत्तरार्धका रूपमा मनाइन्छ। चैत शुक्ल पूर्णिमापछिको पहिलो बिहीबार वा पहिलो सोमबारका दिन यो पर्व मनाउने परम्परा रहेको छ।

रानाथारु समुदायमा फागु (होली) ३८ दिनसम्म खेल्ने चलन रहेको छ। यस अवधिपछि होलीलाई विदाइ गर्नुपर्ने हुन्छ। “खखडेहरा पर्व” मा घरको मूल व्यक्तिले होलीलाई विदाइ गरिसकेको हुन्छ, तर घरका महिलाहरूले भने औपचारिक रूपमा विदाइ गर्न पाएका हुँदैनन्। त्यसैले चराँई पर्व महिलाहरूका लागि होली विदाइ गर्ने विशेष अवसरका रूपमा मनाइन्छ।

यो पर्वपछि विवाह भइसकेका महिलाहरू आफ्नो ससुराली फर्किने चलन पनि रहेको छ। पर्वका अवसरमा महिलाहरूले मिठो भात, उसिनेको आलु, माछा, भरुवा भटा लगायतका परिकार पकाएर ल्याउने गर्छन्।

गाउँका गुरुवा (गौटेहरा/भर्रा) आएपछि पूजा गर्नका लागि सबैले ल्याएको खानाबाट केही भाग छुट्याएर सामूहिक रूपमा चढाइन्छ। पूजा सम्पन्न भएपछि गुरुवाले उक्त खाना प्रसादका रूपमा वितरण गर्ने चलन छ।

पूजा अघि कसैले खाना खाएको थाहा पाएमा गुरुवाले नियम उल्लङ्घन गर्ने व्यक्तिलाई तुरुन्त जरिवाना गर्ने प्रचलन पनि रहेको छ।

यो पर्व प्रायः रुखको छायाँमुनि बसेर मनाइन्छ। चराँई पर्व मनाउन गएका व्यक्तिहरू बीचमै घर फर्कन पाउँदैनन्। दिनभरि सबैले होली खेल्दै रमाइलो गर्ने गर्छन्।

साँझतिर गुरुवाले घर फर्किने बाटोमा पूजा गरेपछि सबैले जंगलबाट ल्याएको स्याउला (पात/टह्रा) लिएर आउँछन्। त्यसलाई भुइँमा वा होली जलाइएको स्थानमा फालिन्छ। त्यसपछि गाउँका पधना (अथवा भलमन्सा) को घरमा गई पानी लिने चलन छ।

पधनाको घरमा पुगेका महिलाहरूलाई गुरुवाले पानी छर्केर पवित्र बनाएपछि मात्र उनीहरू आ-आफ्नो घर फर्किन्छन्।

स्थानीयका अनुसार, यो पर्व रानाथारु मात्र नभई , कठरिया थारू, चौधरी थारु समुदायले पनि मनाउने गर्छन्। विशेषगरी जहाँ रानाथारु बस्ती वा उनीहरूको देवता रहेको स्थान छ, त्यहाँ चौधरी थारुहरूले पनि “चिरई पर्व” का रूपमा यसलाई मनाउने गर्छन्।