धनगढी उपमहानगरपालिकाले मिति २०८२ पौष १८ गते शुक्रबारका दिन वडा नं. ७ स्थित श्री शिव माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययरत १२ जना दलित छात्राहरुलाई दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत एउटा झोला, एक दर्जन कापी र एक दर्जन डट्पेन वितरण गरेको छ । धनगढी उपमहनगर पालिका कि नगर उपप्रमुख कन्दकला कुमारी रानाले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका दलित वाद्यार्थीहरूलाई भेटेरै छात्रबृत वितरण गरिराख्नु भएको छ । महानगरको यस अभियानलाई हरेक वडाका वडाअध्यको टिमले सहयोग गर्दै अइरहेको छ भने शिक्षा,युवा तथा खेलकुद महाशाखाले अवश्यक सहयोग र समन्वय गर्दै अइरहेको छ ।
के हाे त दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति कार्यक्रम ?
संक्षिप्त जानकारी
यो कार्यक्रम धनगढी निवासी स्वर्गीय जुठे दमाईको स्मरणमा धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ८-१० मा अध्ययनरत छात्राहरुका लागि आ.व. २०८२।८३ मा स्वीकृत गरेको छात्रवृत्ति कार्यक्रम हो ।
दलित अभियन्ता जुठे दमाईको जन्म वि.सं. १९९३ सालमा डोटीको सिलगढीमा आमा पदमा दमाई र बुबा बहादुर दमाईका जेष्ठ सुपुत्रका रुपमा भएको हो । उनको परिवार २०२७ सालमा डोटीको सिलगढीबाट कैलालीको धनगढीमा आएको थियो ।
धनगढीमा रहेर स्वर्गीय जुठे दमाईले सामाजिक अभियन्ता र अधिकारका पहरेदारका रुपमा काम गरेका थिए । आमाबुबाका पाँच दाजुभाईमध्येका ज्येष्ठ सुपुत्र जुठे दमाईले आर्थिक अभाव र सामाजिक विभेदबाट उत्पन्न संकटलाई नजिकबाट बुझेका थिए । त्यसैले उनले आफू बाँचुन्जेल दलित अधिकार, आर्थिक अभाव, सामाजिक विभेद, असमानता, जातिय छुवाछुत लगायतका विषयमा निरन्तर बहस पैरवी गरेर दलित समुदायको उत्थानका लागि कार्य गरिरहे ।
उनको सम्मान स्वरुप धनगढी उपमहानगरपालिकाको १३ औं नगरसभाबाट [२०८२ असार ७ गते] धनगढी उपमहानगरपालिका सबै सामुदायिक विद्यालयका कक्षा ८, कक्षा ९ र कक्षा १० मा अध्ययरत दलित छात्राहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम स्वीकृत गरेको थियो ।
नगरसभाबाट स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्नेक्रममा धनगढी उपमहानगरपालिकाले प्रति छात्रा एउटा झोला, एक दर्जन कापी र एक दर्जन डट्पेन “दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति” स्वरुप वितरण गरेको छ ।
२०८२ साल पौष १३ गते आइतबार वडा नं. १६ को रामपुरस्थित श्री शिव माध्यमिक विद्यालयबाट छात्रवृत्ति सामग्री वितरणको सुभारम्भ गरी उपमहानगरपालिकाले पौष १४ गते, पौष १६ गते र पौष १७ गते निरन्तर सम्बन्धित विद्यालयमै पुगेर सामग्री वितरण गरिरहेको छ । पौष १८ गते यस कार्यक्रम अन्तर्गत सबै सामुदायिक विद्यालयका कक्षा ८-१० मा अध्ययनरत दलित छात्राहरुलाई सामग्री वितरण गरी सक्ने योजना उपमहानगरको रहेको छ ।
यस कार्यक्रमबाट धनगढी उपमहानगरपालिकाभित्र कक्षा ८ र सो भन्दा माथिल्ला कक्षाको पढाई हुने ४० सामुदायिक विद्यालयका ५७६ जना दलित छात्राहरु सामग्री प्राप्त गर्नेछन् । यस कार्यक्रमबाट शैक्षिक सामग्रीको अभावमा दलित छात्राहरुले विद्यालय छाड्नु पर्ने अवस्थाको अन्त्य हुने, दलित छात्राहरुको सिकाइमा सुधार हुने अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको छ ।







