नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. २ को आयोजनामा वैदेशिक रोजगार, सामाजिक विकृति, लागू पदार्थ दुव्र्यसन तथा डिजिटल ठगी सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदायमा बढ्दै गइरहेका विभिन्न सामाजिक समस्या तथा साइबर अपराधका घटनाबारे नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।


कार्यक्रमका सभाध्यक्ष लालझाडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम राना रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना सहभागी हुनुभएको थियो। त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।



कार्यक्रममा प्रशिक्षकका रूपमा प्रहरी निरीक्षक कमल प्रसाद चौधरी तथा नरेश चौधरीले सहजीकरण गर्दै वैदेशिक रोजगारमा जाने क्रममा अपनाउनुपर्ने सावधानी, वैदेशिक रोजगारीका नाममा हुने ठगी, सामाजिक विकृति तथा विसंगतिका असर, लागू पदार्थ दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विभिन्न स्वरूपबारे जानकारी गराउनुभएको थियो।
प्रशिक्षकहरूले सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, अनलाइन कारोबार तथा विभिन्न डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका उपायबारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए। साथै अपरिचित व्यक्तिलाई व्यक्तिगत विवरण, बैंक खाता नम्बर, ओटीपी तथा पासवर्ड उपलब्ध नगराउन आग्रह गर्दै साइबर अपराधबाट जोगिन सचेत रहनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निर्मल रानाले समाजमा देखापर्दै गएका विभिन्न सामाजिक समस्या न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी युवाहरूलाई वैदेशिक रोजगार, लागू पदार्थ दुव्र्यसन तथा डिजिटल ठगीबाट बचाउन समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, भलमन्सा, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट वैदेशिक रोजगार, लागू पदार्थ दुव्र्यसन तथा डिजिटल ठगी सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए।
कार्यक्रमको सञ्चालन वडा नं. २ का वडा सचिव झुस राम सार्कीले गर्नुभएको थियो। आयोजकका अनुसार समुदायमा सचेतना अभिवृद्धि गर्दै सुरक्षित, सभ्य र अपराधमुक्त समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्।






