नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ मा बाढी तथा नदी कटानबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माण भइरहेको ३५० मिटर लामो जैविक तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पेस्वन नेपाल (PESWON Nepal), NNSWA, सेवक नेपाल तथा लालझाडी गाउँपालिकाको समन्वयमा र कञ्चन सामुदायिक विपत् व्यवस्थापन समितिको सहजीकरणमा उक्त तटबन्ध निर्माण कार्य सञ्चालन गरिएको हो।

वर्षेनी बाढी र नदी कटानका कारण स्थानीय बासिन्दा तथा कृषियोग्य जमिन प्रभावित हुँदै आएको अवस्थामा जैविक तटबन्ध निर्माणले दीर्घकालीन रूपमा जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तटबन्ध निर्माणका लागि स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको प्रयोग गरिएको छ भने समुदायका नागरिकहरूको सक्रिय सहभागिता रहेको छ।

कञ्चन सामुदायिक विपत्स व्यवस्थापन समिति का अध्यक्ष दर्सन राना का अनुसर जैविक तटबन्धले नदीको बहाव व्यवस्थापन गर्न, कटान नियन्त्रण गर्न तथा बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्न मद्दत पुग्नेछ। साथै, वातावरणमैत्री प्रविधिको प्रयोग गरिएकाले यसले प्राकृतिक सन्तुलन कायम राख्न समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

निर्माण कार्यमा स्थानीय युवा, महिला तथा समुदायका अन्य सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसले विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरूमा समुदायको स्वामित्व र जिम्मेवारी बढाउनुका साथै विपद् व्यवस्थापनसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको स्थानीयवासीहरूले बताएका छन्।

लालझाडी गाउँपालिकाले स्थानीय समुदायको सुरक्षा र दिगो विकासलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। गाउँपालिकाका प्रतिनिधिहरूले सरकारी निकाय, गैरसरकारी संस्था तथा समुदायबीचको सहकार्यले विपद् व्यवस्थापनका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भइरहेको बताएका छन्।

निर्माण कार्य सम्पन्न भएपछि उक्त क्षेत्रमा बाढी तथा नदी कटानबाट हुने क्षति न्यूनीकरण हुनुका साथै स्थानीय बासिन्दाको जनधन, कृषि उत्पादन र भौतिक संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले समेत जैविक तटबन्ध निर्माणलाई स्वागत गर्दै यसको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनमा समुदायको सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गरेका छन्। यस कार्यक्रमलाई विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक सशक्तीकरणको सफल उदाहरणका रूपमा हेरिएको छ।