धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा सुचारु गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि सबै प्रकारका सेवा ठप्प रहेकाे जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि परिचयपत्र सम्बन्धि सेवा सञ्चालनमा ल्याएकाे जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जाेशीले मंगलबार परीक्षणका रूपमा थालिएको राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा बुधबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको बताए ।
दसैं लगत्तै सेवा सञ्चालन गर्ने पूर्व तयारी अनुसार नै काम अघि बढाइएकाे जाेशीले बताए । उनकाअनुसार अब राहदानी सम्बन्धि सेवा समेत सुचारू गर्न तयारी भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धि सेवा भने जेनजी आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे ।
आन्दोलनका क्रममा आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।
प्रशासनले अत्यावश्यक सेवा सञ्चालनसँगै पुन: निर्माणकाे काम समेत अघि बढाइरहेको जनाएको छ ।