लालझाडीमा स्वतन्त्र युवा समूहको १२ बुँदे मागमाथि छलफल, पालिकाले कार्यान्वयनको प्रतिबद्धता जनायो

२१ आश्विन २०८२, मंगलवार
लालझाडीमा स्वतन्त्र युवा समूहको १२ बुँदे मागमाथि छलफल, पालिकाले कार्यान्वयनको प्रतिबद्धता जनायो

नरेश राना / लालझाडी
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा स्वतन्त्र युवा समूहले असोज २ गते पेश गरेको १२ बुँदे मागपत्रमाथि आज गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीका साथ छलफल सम्पन्न भएको छ। स्वतन्त्र युवा नेता नारायण रानाको नेतृत्वमा प्रस्तुत मागहरूमाथि आजको बैठकमा विस्तृत छलफल गरिएको हो।

स्वतन्त्र युवा समूहले करारमा कार्यरत कर्मचारीहरूलाई तत्काल हटाउनुपर्ने माग गरेको छ। उक्त विषयमा अध्यक्ष रानाले पालिका कार्यपालिका बैठक यही असोज २३ गते बस्ने जानकारी दिँदै सो बैठकमार्फत युवा समूहका मागहरूलाई प्राथमिकताका साथ छलफल गरिने आश्वासन दिएका छन्।

त्यस्तै, वडा नं. ४ मा अवस्थित होमस्टे परियोजनाको विषयमा पनि छलफल भएको छ। होमस्टे सञ्चालनका लागि आवश्यक जग्गाको क्षेत्रफल सार्वजनिक गर्ने र उक्त परियोजनालाई यही २३ गतेको कार्यपालिका बैठकमा निर्णय गरेर तुरुन्तै सञ्चालनमा ल्याइने अध्यक्ष रानाले प्रतिबद्धता जनाएका छन्।

आजको छलफलमा अध्यक्ष रानाले पालिकाभरि रहेका खाल्डा-खुल्डी सडकहरूको मर्मत कार्य भोलिदेखि सबै वडामा सुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

स्वतन्त्र युवा समूहले १० दिनको अल्टिमेटमसहित मागपत्र बुझाएको थियो। मागप्रति पालिकाको यो सकारात्मक प्रतिक्रियालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्। अब २३ गतेको कार्यपालिका बैठकमा मागहरू कसरी कार्यान्वयनमा आउने हुन् भन्ने विषयमा स्थानीयवासीहरूको ध्यान केन्द्रित भएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio