सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने

२१ आश्विन २०८२, मंगलवार
सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो ।

सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।

बाढीपहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका साथै प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा यो संकट आउन नदिन आवश्यक काम अघि बढाउने निर्णय बैठकले गरेको हो ।

महामारी फैलिन नदिनका लागि जनचेतना फैलाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका कामहरू संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढीपहिरोका कारण देशभरिका विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू तीनै तहको पहलमा तत्काल सञ्चालनमा ल्याइने निर्णय भएको छ ।

विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह )ले मिलाउने निर्णय बैठकले गरेको हो ।

बाढीपहिरोबाट अवरुद्ध खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio