नरेन्द्र महरा/नरेश राना /कञ्चनपुर: लालझाडी गाउँपालिका–५ वाणीस्थित श्री बैजनाथ बाल ज्योति आधारभूत विद्यालय अहिले तीव्र सुधार यात्रामा अघि बढिरहेको छ। स्थानीय समाजसेवी तथा युवा नेतृत्वकर्ता ललित बहादुर मल्ल गत साउन ७ गते सर्वसम्मत निर्णयमार्फत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएपछि विद्यालयमा भौतिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य परिवर्तन आएको छ।

वि.सं. २०५५ सालमा स्थापित यो विद्यालयमा हाल १२० जना विद्यार्थी अध्ययनरत छन्। यहाँ प्रायः दलित, आदिवासी, गरिब तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालय समुदायमै महत्वपूर्ण केन्द्र बनेको छ। विद्यालय प्रशासनका अनुसार निकट भविष्यमा विद्यार्थी संख्यामा अझै वृद्धि हुने अनुमान गरिएको छ।


अध्यक्ष मल्लले पदभार सम्हालेको छोटो अवधिमै विद्यालयमा उल्लेख्य काम सम्पन्न गरेका छन्। विद्यालयको खेलमैदान व्यवस्थापन, पर्खालमा रङरोगन, शुद्ध खानेपानीको धारा जडान, साइकल स्ट्याण्ड निर्माण, मञ्च निर्माणलगायतका काम श्रमदान, सहयोग र सहकार्यको बलमा सम्पन्न भएको छ। यी पहलले विद्यालयको भौतिक संरचना मात्रै नभई विद्यार्थी र अभिभावकमा विद्यालयप्रतिको विश्वास पनि बढाएको छ।
भौतिक सुधारसँगै शैक्षिक क्षेत्रमा पनि विद्यालयलाई नमुना बनाउन अध्यक्ष मल्लले आफ्नो दृष्टि स्पष्ट गरेका छन्। उनले भने, “अब विद्यार्थीलाई प्रविधिमैत्री सिकाइ उपलब्ध गराउनेछौं। कक्षा नर्सरीदेखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने, रङ्गीन छापासहितका कक्षाकोठा बनाउन, सरस्वती मन्दिर निर्माण गर्न र यस विद्यालयलाई पालिकाकै उत्कृष्ट नमुना विद्यालय बनाउन म अहोरात्र लाग्नेछु।”
विद्यालयका प्रधानाध्यापक उमेश प्रसाद चौधरीले विद्यालय सुधारयात्रामा शिक्षक–शिक्षिकाको मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकको साथसहयोगले सकारात्मक नतिजा देखिन थालेको बताए। “गुणस्तरीय पठनपाठन, शिक्षक–शिक्षिकाको निरन्तर प्रयास र अध्यक्ष मल्लको सक्रियताले विद्यालय सुधारको मार्गमा द्रुत गतिमा अघि बढिरहेको छ,” उनले भने।
बैजनाथ बाल ज्योति आधारभूत विद्यालयमा देखिएको यो परिवर्तनले गाउँकै शैक्षिक स्तरलाई नयाँ आयाम दिने विश्वास गरिएको छ। सामुदायिक विद्यालयको उन्नति समाजको साझा गौरव हुने भएकाले यस विद्यालयको सुधारले सम्पूर्ण गाउँपालिकाकै शिक्षा क्षेत्रलाई सकारात्मक सन्देश दिने स्थानीयको भनाइ छ।