नरेश राना / कृष्णपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ निगालीकी दिया बुढा सोमबार बिहान मात्रै छाउगोठमा बसेर घरमा प्रवेश गरेकी दिइन् । उनी बसेको छाउगोठ उनको मूल घरको पश्चिम पट्टि अवस्थित थियो ।
उनी छाउगोठबाट निस्किएकै दिन सोमबार बिहान वडाको छाउगोठ भत्काउने टोली उनको घरमा पुग्यो । प्रहरी सहितको टोलीले दिया बसेको छाउगोठको छानो आधा मात्रै भत्काएको थियो त्यसमा एउटा सर्प देखियो । लगतै थप छानो भत्काउँदा त्यही छानोमा दोस्रो सर्प पनि देखियो । यो सबै दृश्य पर बसेर हेरिरहेकी दियाको शरीर जिरिङ्ग भइरहेको थियो । आफू सर्प सँगै सुतेर पनि बाचेको भन्दै उनीको अनुहारमा डर स्पष्ट देखिन्थ्यो ।
भित्र उभिन पनि नमिल्ने चार फुट उँचो, छ फुट जति लम्बाइ र चार फुट जति मात्रै चौडाइको छाउगोठमा उनी पाँच दिन बसेकी थिइन् । त्यही छाउगोठमा बिहान सम्म दिया बसेको थाहा पाएपछि उनलाई पत्रकारले प्रश्न गर्न सुरु गरे तर, उनका बुवा अमर बहादुर बुढाले भने दियालाई क्यामेराको अगाडि बोल्न नदिई भित्र पठाए ।
त्यसपछि आफै बोलेका उनले छोरी प्रति कुनै सहानुभूति देखाएनन् । उल्टै कालले काललाई लिने भन्दै मर्ने भए राती शौचालय जाँदा पनि टोकेर मर्ने बताए । आफ्नो पनि छोरी मरुन् भन्ने इछ्या नभएको बताउँदै उनले पुर्खादेखि मानेको रीतिरिवाज मानेको बताए । धर्मको परिपाटी भएकाले आफूहरूले छाउगोठमा बसाउने गरेको उनले तर्क गरे । उनले घर भित्र महिनावारी भएका बेला बस्न दिएमा गाई गोरु बिरामी हुने, घरमा असन्चो हुने बताए । छाउगोठ भत्काएपछि आक्रोशित भएका उनले अब घरमा महिनावारी भएकालाई राखेर केही भएमा सरकारले जिम्मेवारी लिनुपर्ने तर्क गरे । उनले भने ‘देवीदेवताले सताएको छ । मेरो श्रीमती पनि काप्छिन । एक्कासी घर भत्काएर अब कहाँ सुताउने । घरमा सुताएर केही भएमा सरकारले, वडाले जिम्मा लिनुपर्छ ।’
छाउगोठमै बसेका बेला सोमबार सविता साउँदको पनि छाउगोठ भत्काइएको थियो । घर अगाडी धान खेतको किनारामा भएको उनको छाउगोठ भत्काउन थालिएपछि उनी धान खेतमा गइन् । महिनावारी भएका बेला घरको आँगनमा सम्म आउन नहुने मान्यताका कारण उनी धान खेतमा गएकी थिइन् । टोलीले छाउगोठ भत्काएपछि भने उनी भत्काएकै गोठको छेउमा बसिन । ‘छाउगोठ भत्काएपछि अब कहाँ जाने, घरमा बस्न मिल्दैन, देउताले सहन्नन्’ उनले भनिन् ‘अब बाहिरै त बस्ने होला ।’
असार अन्तिम साता छाउगोठमै निगालीकै कमला दमाइको सर्पले टोकेर मृत्यु भएपछि नगरपालिका र जिल्ला प्रशासनले सूचना जारी गदै छाउगोठ भत्काउने अभियान सुरु गरेका थिए । जसअन्तर्गत कृष्णपुर नगरपालिकाको सबैभन्दा बढी छाउगोठ रहेको वडा नम्बर १ मा पाँच दिन अभियान सञ्चालन गर्दा ५७ वटा छाउगोठ भत्काइएका छन् । बिचमा रोकिएर पुनः सुरु गरिएको छाउगोठ भत्काउने अभियान अन्तरगत सोमबार ४ वटा छाउगोठ भत्काइएका थिए । जसमध्ये २ छाउगोठमा ३ सर्प फेला परेको छाउगोठ भत्काउने अभियानकी वडा संयोजक रत्ना बोहराले बताइन् । कार्यपालिका सदस्य समेत रहेकी उनले अभियान सञ्चालन गर्न निकै अप्ठ्यारो भइरहेको बताइन् । उनले भनिन ‘अभियान सहज छैन । छाउगोठ भत्काउँदा गाली गरिरहेका छन् । कति ठाउँमा कुटपिट पनि गर्न आइरहेका छन् ।’
उनले महिलालाई जोखिमबाट बचाउनका लागि छाउगोठ भत्काउन जरुरी रहेको बताइन् । ‘महिला दिदी बहिनीले ज्यान जोखिममा राखेर यसरी सर्पसँगै काल कुरेर बसिरहनु भएको छ । आफूलाई आराम चाहिएको बेला झन् अप्ठ्यारो हुने गरी छाउगोठमा सुत्नुहुन्छ । यी घरमा पंंखा छैन लाइट छैन’ उनले भनिन्’ ‘खानको लागि पनि दूध दही पनि नदिने परम्परा छ । घरको आँगनमा समेत आउन दिँदैनन् ।’ उनले हाल छाउगोठ भत्काउँदै जनचेतना पनि दिइरहेको बताइन् ।
कृष्णपुर नगरपालिकाकी उपमेयर द्रोपती रानाले सोमबार सम्ममा ५७ छाउगोठ भत्काउँदा २० वटा सर्प भेटिइसकेको बताइन् । ‘हामीले १५ दिनको सूचना निकालेर आग्रह गरेका थियौ । जसमा केही गोठ भत्काइएका भए पनि धेरै बाकी थिए’ उनले भनिन् ‘अहिले सम्म हामीले अभियान अन्तरगत छाउगोठ भत्काउने क्रममा सोमबार सम्ममा ५७ वटा छाउगोठ भत्काइसकेका छौ । हामीले ५७ छाउगोठ भत्काउँदा २० वटा सर्प भेटिइसकेका छन् । सोमबार मात्रै ३ वटा सर्प भेटिएका छन् ।’
उनले अब छाउगोठ भत्काएर पुनः निगरानी गरिने बताइन । उनले भनिन ‘पुनः छाउगोठ बनाइएको पाइए कानुन अनुसार कारबाही गर्ने छौ नगरका सेवा रोक लगाउँछौ ।’ उनले हाल कृष्णपुरको वडा नम्बर १ मा बढी समस्या भएको बताइन् ।
वडाध्यक्ष मोहन बस्नेतले जानेका बुझेका मानिसहरूले नै छाउगोठको पक्षमा वकालत गरिरहेको बताए । मानव बस्ने लायक नै नभएका साना टहरा बनाएर महिनावारी भएकी महिलालाई बसाउने गरेको बताउँदै यसलाई रोक्न जनचेतना सँगै छाउगोठ भत्काउन आवश्यक रहेको बताए । उनले अहिले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर भत्काउने भन्दा पनि थोरै थोरै गरेर सम्झाउँदै बुझाउँदै छाउगोठ भत्काइरहेको बताए ।
निगाली गाउँकी स्थानीय मानमती भण्डारीले छाउगोठ भत्काउँदा जताततै सर्प भेटिइरहेको बताइन् । छाउगोठ भत्काउन सहयोग गर्दै आएकी उनले छाउगोठ भत्काउँदा आफूले मात्रै ८ वटा सर्प देखेको बताइन् । उनले निगाली गाउँको अछामी समुदायमा छाउगोठ धेरै भएको बताइन् । उनले हाल छाउगोठ भत्काएपछि पनि पाल हालेर महिलाहरू महिनावारी भएका बेला घरबाहिरै बस्ने गरेको बताइन् ।