नरेन्द्र महरा/कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नं. ३ मा ७१ लाख ५० हजार २ सय ४ रुपैयाँ २८ पैसा लागतमा निर्माण हुन लागेको प्रशासनिक भवनको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ। नगर प्रमुख हेमराज ओझाले शिलान्यास गर्दै भवन समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुने आशा व्यक्त गरे।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष खेम चौधरी, वडा सदस्यहरू, समाजसेवी बलराम पन्त, स्थानीय बुद्धिजीवी तथा नगरवासीहरूको उत्साहपूर्ण उपस्थिति थियो।
नगर प्रमुख ओझाले भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयको सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने बताए। साथै, स्थानीयवासीको सक्रिय सहयोग र निगरानीले निर्माण कार्यमा पारदर्शिता र गुणस्तर कायम रहने विश्वास व्यक्त गरे।
वडाध्यक्ष चौधरीले वडा क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको उल्लेख गर्दै, यो भवन स्थानीय प्रशासनिक कार्यको केन्द्र बन्ने र जनताको सेवा सुविधामा टेवा पुर्याउने बताए। भवन निर्माण कार्य श्रीषा एण्ड समायारा कन्स्ट्रक्सन प्रा.लि, गोदावरी–१ अत्तरिया, कैलालीले ठेक्का नं. ३०–WoB–२०८१/८२ अन्तर्गत सम्पन्न गर्नेछ। निर्माण समापन मिति २०८२ चैत ३० तोकिएको छ।






