NNSWA र World Vision को आर्थिक सहयोग तथा बैजनाथ बाल क्लबको आयोजनामा आज चौथो बाल सहभागिता दिवस उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै गौरवपूर्ण स्थान हासिल गरे।


प्रतियोगितामा केदार पब्लिक स्कुल वण्डकी बिनिता धामीले १९.५ अंक प्राप्त गर्दै प्रथम स्थान, सोही विद्यालयका प्रदिप कपाडीले १५.८ अंकसहित द्वितीय स्थान, राष्ट्रिय माध्यमिक विद्यालय पहरियाकी सपना बुढाले १५.३ अंकसहित तृतीय स्थान र सोही विद्यालयका नवीन सार्कीले १४.६ अंकसहित चौथो स्थान हासिल गरे। आयोजकका अनुसार, यस्ता कार्यक्रमहरूले बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र सहभागिताको भावना अभिवृद्धि गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँछन्। बैजनाथ बाल क्लबले विगतमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएको छ। साथै, शिक्षकहरूलाई प्रत्येक विद्यालयका विद्यार्थीलाई यस्ता अवसरमा सहभागी गराउन विशेष आग्रह गरिएको छ, ताकि सबै बालबालिकाले आफ्ना सीप र क्षमता प्रदर्शन गर्ने मौका पाउन सकून्।

कार्यक्रममा शिक्षक, समाजसेवी, जनप्रतिनिधि, बाल अधिकार समिति, बालमैत्री स्थानीय शासन, NNSWA तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्त्यमा विजेताहरूलाई पुरस्कार प्रदान गरिँदा सभामा ताली र उत्साहको माहोल छाएको थियो। कार्यक्रममा एक अतिथिले भने, “मान्छेको अगाडि आएर बोल्न सक्नु आफैंमा ठूलो कुरा हो। हाम्रो समाजमा अझै धेरै मानिसहरू यस्ता अवसरमा बोल्न डराउँछन्, तर तपाईंहरूले नडराई आफ्ना कुरा राख्नु वास्तवमै प्रशंसनीय छ।”






