धनगढी: कैलाली जिल्ला, गौरीगंगा नगरपालिका–६, बनबेहडाका स्व. तिलक रोकाया (तिलू) को दुःखद निधन भएको छ। आर्थिक कठिनाइबीच कहिले गिट्टी कुटेर, कहिले खेतमा मजदुरी गरेर, कहिले जङ्गली तरकारी टिपेर आफ्नो परिवारको भरण–पोषण गर्दै आएका रोकायाको जीवन दैनिकी संघर्षपूर्ण थियो।
गत दिन छोरीलाई जुत्ता किनिदिनुपर्ने भएपछि तिलक रोकाया बासकाल्ला लिन जंगल गएका थिए। साँझसम्म घर फर्किनु पर्ने तिलू नआएपछि आमा र श्रीमती चिन्तामा परे। रात बितिसक्दा पनि नआएपछि खोजतलासको क्रममा खबर आयो—तिलक रोकाया अब यो संसारमा रहेनन्।

आकस्मिक घटनाले परिवारको आशको खम्बा ढलेझैँ भयो। आर्थिक रूपमा अति विपन्न अवस्थामा रहेका रोकाया परिवारको कठिन परिस्थिति देखेर जय महांकाल युवा समूहले सहयोगको हात बढाएको छ। समूहले रु ६,५००/- नगद सहित चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेको छ। समूहका प्रतिनिधिहरूले मानवताको नाताले पीडित परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। इच्छुक व्यक्तिहरूले सम्पर्क नम्बर 9828763906 / 9806493795 सम्पर्क गरी अभियानमा सहभागी हुन सकिने जय महाकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटी महासचिव हिक्मत भण्डारी हाकु ले बताएका छन्।