लालझाडीमा सुरो नेपालको ठगी’, माओवादीको कारबाहीको माग

२०८२ श्रावण २३, शुक्रबार १९:१७
लालझाडीमा सुरो नेपालको ठगी’, माओवादीको कारबाहीको माग

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाका किसानहरू मलखाद अभाव र अनुदानको नाममा ठगीको मारमा परिरहेका बेला नेकपा माओवादी केन्द्र लालझाडी कार्य समितिले गम्भीर आपत्ति जनाउँदै सरकार र गैरसरकारी संस्थाहरूको भूमिकामाथि प्रश्न उठाएको छ।

कार्य समितिका इञ्चार्ज भक्ता रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किसानका समस्या सम्बोधनमा सरकार पूर्णतः असफल भएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ। “लामो समयदेखि नेकपा माओवादी केन्द्र किसानको हकहितका पक्षमा निरन्तर संघर्षरत रहँदै आएको सर्वविदित कुरा हो,” विज्ञप्तिमा उल्लेख छ, “तर पछिल्लो समयमा लालझाडी गाउँपालिकाभित्र रहेका किसानहरू मलखादको चरम अभावका कारण अत्यन्त समस्यामा परिरहेका छन्। सरकारले समाधान गर्नुको सट्टा बेवास्ता गरिरहेको छ।”

माओवादी केन्द्रले विशेषतः ‘सुरो नेपाल’ नामक गैरसरकारी संस्थाको गतिविधिमाथि आपत्ति जनाउँदै उक्त संस्था र यससँग आबद्ध सहकारीहरूको भूमिकालाई “किसानमाथिको ठगी“ भन्दै कडा शब्दमा भत्सर्ना गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “कञ्चनपुरको लालझाडी गाउँपालिकामा सहकारीमार्फत सञ्चालित सुरो नेपाल नामक एनजिओद्वारा किसानहरू ठगिएको सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारहरूले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।”

सुरो नेपालले अनुदानको नाममा साना किसान सहकारी संस्था र अनमोल कृषि सहकारी संस्थामार्फत तीन सयभन्दा बढी किसानसँग फारम भराएर करिब एक वर्ष बितिसक्दा पनि कुनै सेवा वा अनुदान नदिएको भन्दै पार्टीले आक्रोश व्यक्त गरेको छ। “यसरी किसानहरूलाई प्रलोभन देखाई ठगी गर्ने कार्य माफ गर्न लायक छैन,” विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले सुरो नेपाल र संलग्न सहकारी संस्थाहरूविरुद्ध छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ। “संलग्न संस्थामाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गरियोस् भन्ने हाम्रो पार्टीको स्पष्ट माग छ। किसानका हक अधिकारमा आँच आउने कुनै पनि कार्यलाई नेकपा माओवादी केन्द्र कदापि सहन सक्दैन,” इञ्चार्ज रानाले भनेका छन् ।

पार्टीले समयमै सम्बन्धित निकायले पहल नगरे गम्भीर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ । “यदि समस्याहरूको समयमै सम्बोधन भएन भने हामी थप संघर्षका कार्यक्रम अघि बढाउनेछौं,” विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा हालसम्म सुरो नेपाल तथा सम्बन्धित सहकारी संस्थाहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, किसानहरू भने निराश र आक्रोशित देखिएका छन् । नेकपा माओवादी केन्द्रले किसानको हकहितका लागि संघर्ष जारी रहने स्पष्ट गर्दै कृषिमा आधारित गाउँपालिकामा किसानमाथिको अन्याय, ठगी र बेवास्ता सह्य नहुने चेतावनीसमेत दिएको छ।

कञ्चनपुरको लालझाडी जस्तो कृषिप्रधान क्षेत्रमा किसानहरूको आवाज उठाउँदै आएको पार्टीको भनाइलाई स्थानीयले सकारात्मक रूपमा लिएको जनाइएको छ ।