कञ्चनपुर। नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री नारायणप्रकास (एनपी) साउदले २ वर्षभित्र अव्यवस्थि बसोवासीको हात हातमा लालपूर्जा पुगाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्दै उनले भूमि आयोगका कार्यलाई तीव्रता दिनका लागि जनशक्ति थपेर भएपनि कार्य अगाडी बढाउनु पर्ने बताए।
अव्यवस्थित बसोवासीले तिर्नु पर्ने जग्गाको शुल्क (राजश्व) ८० प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा कम गरिएको उनले बताए।‘सरकारले तोकेको शुल्क जग्गा किने सरह भएको जनगुनासो आएपछि त्यसलाई घटाएका छौं,’ उनले भने, ‘चलनभोग गरेको जग्गाको स्वामित्व प्रदान गर्नका लागि आतुर छौं।’

स्थानिय बासिन्दाले ५० वर्ष अघि देखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व पाउन नसकेको उल्लेख गर्दै उनले अबको २ वर्ष भित्रै त्यो सपना पुरा हुन लागेको बताए। ‘अरुको मिसन ८४ चुनावका लागि होला,’ उनले भने, ‘हाम्रो मिसन भनेको जनताको हात हातमा लालपूर्जा पुगाउने, विकास निर्माणका कार्यलाई अगाडी बढाउने रहेको छ, यस कार्यलाई अगाडि बढाउन सबैको सहकार्यको आवश्यकता छ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि कार्य अगाडि बढाउन लागेको उनले जानकारी दिए। ‘यसबारे सम्बन्धित पक्षसँग घनिभूत रुपमा छलफल भैरहेको छ,’ उनले भने, ‘मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ, त्यसका लागि पहल गरि रहेका छौं, निकुञ्ज प्रवेश मार्ग निर्माण भएमा यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने छ।’
विकासका कार्यमा राजनीति गर्न नहुनेमा जोड दिदै उनले आरोप प्रत्यारोपको शिलशिलाको अन्त्य गर्नु पर्ने बताए। ‘प्रतिपक्षले प्रतिबद्धता अनुरुप यो काम गर्न सक्नु भएन भन्न सक्नु पर्छ,’ उनले भने, ‘सत्ता पक्षीयले यो कार्य यति कारण हुन सकेन भनेर तथ्यसहित भन्न सक्नु पर्छ, गरेका कार्यको फेरिहस्त पेश गर्न सक्नु पर्छ।’ कार्यक्रममा नेकपा एमालेबाट नेपाली काँग्रेसमा प्रवेश भएका १३ जनालाई पूर्वमन्त्री साउदले टिका लगाएर स्वागत गरेका थिए।
पूर्वमन्त्री साउदले संघीय सरकार र नगरपालिकाको साझेदारीमा निर्माण भैरहेको नगर चक्रपथ सडक र सनवोरा नदीमा निर्माण हुने पुल स्थलको अवलोकन गरे। स्थानिय बासिन्दाले जंगली जनावरको आतंक रोक्नका लागि मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गरिदिनका आग्रह गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नं. २ का सभापती लालबहादुर सिंह, प्रदेश सभा निर्वाचन क्षेत्र क का सभापती करनसिंह ऐर, शुक्लाफाँटाका नगर उपप्रमुख कल्पना पन्त, कृष्णपुरका उपप्रमुख द्रोपती राना, वडा अध्यक्ष र पार्टी कार्यकर्ताको उपस्थीति रहेको थियो।