नरेश राना / अत्तरिया– कैलाली कञ्चनपुर ग्रामिण विद्यूतीकरण छाता संगठनको साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच संगठनको १६औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रामफल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ८ का वडाध्यक्ष गोबिन्द चौधरी रहेका थिए । कार्यक्रममा कैलाली र कञ्चनपुरका २१६ वटा ग्रामिण विद्युत सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले ग्रामीण विद्युत सहकारीहरुले जनताको आवश्यकता पुरा गर्न भूमिका खेलिरहेको बताए । आगामी दिनमा समेत जनताको आवश्यकता पुरा गर्न सहकारीहरु लाग्नुपर्ने उनले बताए ।

२०६५ साल वैशाख २२ गते स्थापना भएको छाता सङ्गठनको प्रथम अधिवेशन २०६६ माघ २५ गते धनगढीमा, दोस्रो अधिवेशन २०६८ जेठ २५ गते महेन्द्रनगरमा र तेस्रो अधिवेशन २०७१ जेठ २९ गते टिकापुरमा भएको थियो । त्यसयता संस्थाको अधिवेशन हुन सकेको थिएन् । लामो समयको अन्तरालपछि साधारण सभा भएकाले पनि सभामा सबै ग्रामिण विद्युत सहकारीका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
सभामा संस्थाले गरेका हालसम्मका गतिविधिहरुका बारेमा पनि छलफल गरिएको थियो । सो अवसरमा संस्थाको वार्षिक आयव्यय विवरण तथा वार्षिक क्रियाकलापहरुका बारेमा समेत उपस्थित प्रतिनिधिहरुलाई जानकारी दिईएको थियो । सभामा आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक तथा वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।
नयाँ कार्यसमितिका लागि प्रतिनिधि चयन
यसैबिच संगठनको चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि प्रतिनिधिहरु छनौट गरिएको छ । संस्थामा कैलालीका ८ र कञ्चनपुरका ३ क्षेत्रबाट नयाँ कार्यसमितिका लागि प्रतिनिधि छनौट गरिएको हो ।

११ वटा निर्वाचन क्षेत्रबाट १/१ जना प्रतिनिधिहरु छनौट गरिएको अध्यक्ष रामफल चौधरीले बताए । उनले दुवै जिल्लाका ग्रामिण विद्युत सहकारीहरुलाई ११ निर्वाचन क्षेत्रमा बाडिएको बताए । ‘संगठनको ढाँचा हाम्रो फरक छ, दुईटै जिल्लाका सहकारीहरुलाई ११ निर्वाचन क्षेत्रमा बाडिएको छ’ उनले भने ‘सो निर्वाचन क्षेत्रहरुबाट १÷१ जना प्रतिनिधिहरु चयन भएर आउनुभएको छ, ति प्रतिनिधिहरुबाटै अब पदाधिकारीहरु चयन हुनेछन् ।’

अधिवेशनले निर्वाचन क्षेत्र नं. १ बाट टेक बहादुर देउवा, क्षेत्र नं.२ बाट कृष्ण प्रसाद कँडेल, क्षेत्र नं. ३ बाट नरेश राज भट्ट, क्षेत्र नं. ४ बाट गणेश दत्त भट्ट र क्षेत्र नं. ५ बाट नारायण ओझालाई छनौट गरेको छ । यस्तै क्षेत्र नं. ६ बाट गोबिन्द प्रसाद भट्ट, क्षेत्र नं. ७ बाट तारा देवी बम, क्षेत्र नं. ८ बाट गोबिन्द ओली, क्षेत्र नं. ९ बाट सिताराम थारु, क्षेत्र नं. १० बाट कृष्ण बहादुर खत्री र क्षेत्र नं. ११ बाट ईश्वर प्रसाद जोशी चयन भएका छन । निर्वाचन क्षेत्रबाट आएका प्रतिनिधिहरुबाटै नयाँ कार्यसमितिका लागि पदाधिकारी चयन हुने अध्यक्ष रामफल चौधरीले बताए ।