नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ मा आयोजित पाँचौं गुरही विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। वडा कार्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमले थारू समुदायको समृद्ध सांस्कृतिक विविधतालाई उजागर गरेको थियो।


कार्यक्रमका सभाध्यक्ष गुरही विशेष सांस्कृतिक कार्यक्रमकी अध्यक्ष पार्वती चौधरी रहनु भएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम डगौरा तथा विशिष्ट अतिथिका रूपमा घनाराम चौधरीको उपस्थिति रहेको थियो।


सांस्कृतिक कार्यक्रममा जनप्रतिनिधि, भलामनसाहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। स्वागत मन्तव्य विनु चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महेश चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा गुरही अस्रैनसँगै थारू समुदायको मौलिक कला, संस्कृति र परम्परालाई प्रतिबिम्बित गर्ने विविध लोकनृत्यहरू प्रस्तुत गरिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
स्थानीय तहमा संस्कृति संरक्षण र प्रवर्द्धनको दृष्टिकोणले यस्ता कार्यक्रमहरूको आयोजना महत्वपूर्ण मानिँदै आएको छ। पाँचौं संस्करणमा पुगेको गुरही कार्यक्रमले आगामी दिनहरूमा अझ व्यापकता पाउने विश्वास गरिएको छ।