कञ्चनपुर, पुनर्वास – पुनर्वास नगरपालिका–५ स्थित नगर भलमन्सा समितिको आयोजनामा तथा सिमरी गाउँको सह–आयोजनामा र पुनर्वास नगरपालिकाको सहयोगमा रानाथारु तिज विशेष सांस्कृतिक कार्यक्रम रानाथारु भलमन्सा संयोजक रमेश रानाको अध्यक्षतामा र नगर उप–प्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

विशिष्ट अतिथिका रूपमा पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराज थापा, विभिन्न वडाका अध्यक्षहरू, भारत उत्तरप्रदेश थारु जनकल्याण संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, रानाथारु उत्थान मञ्चका अध्यक्ष एवं प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय भलमन्सा व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मुख्य अतिथि नगर उप–प्रमुख भुलिया कुमारी रानाले तिजजस्ता मौलिक चाडपर्वहरूको संरक्षणमा नगरपालिकाको निरन्तर सहयोग रहने बताउँदै भनिन्, “हाम्रो संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो।हाम्रो संस्कृतिलाई संरक्षण गर्नुका साथै विकृति/कुरितीलाई छाड्नुपर्छ । चराईका लागि चराई चर्ने टहरा निर्माण गरिएको छ बाँकी वडाहरूमा पनि छिट्टै काम थालिनेछ । साथै डुबान समस्या समाधानका लागि पनि नगरपालिका प्रतिवद्ध रहेको छ।” बालबालिकालाई लागूपदार्थको कुलतबाट बचाउँदै शिक्षा तर्फ अभिमुख गराउनुपर्ने आवश्यकतामा उनले विशेष जोड दिइन्।

त्यसैगरी विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख जीवनराज थापाले आफ्ना मौलिक संस्कृति, पहिचान र पहिरनको संरक्षणमा समुदाय स्वयं अग्रसर हुनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रम उदाहरणीय भएको बताए ।
कार्यक्रममा भारत र पुनर्वासका विभिन्न गाउँबाट आएका कलाकारहरूले सावन विशेष तिज गीतहरू प्रस्तुत गरेका थिए भने राष्ट्रिय कलाकार पार्वती राना र अन्य स्थानीय कलाकारहरूले दर्शकहरूलाई प्रस्तुति प्रस्तुत गरेका थिए।
संस्कृति संरक्षण, एकता सुदृढीकरण तथा युवापुस्तामा सकारात्मक सन्देश फैलाउने उद्देश्यले गरिएको यस कार्यक्रमले समुदायमा नयाँ ऊर्जा भरिदिएको छ ।