लालझाडी ३ रानाथारु तीज विशेष कार्यक्रम २०८२ सम्पन्न

२०८२ श्रावण १०, शनिबार २२:०७
लालझाडी ३ रानाथारु तीज विशेष कार्यक्रम २०८२ सम्पन्न


नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३, पर्सियामा भव्य रानाथारु तीज विशेष कार्यक्रम २०८२ सम्पन्न भएको छ। “संस्कृति बचौँ, कुरीति हटाऔँ, निर्झल समाज बनाऔँ” भन्ने मूल नारासहित आयोजित यस कार्यक्रमले रानाथारु समुदायको सांस्कृतिक जागरण, सामाजिक सद्भाव तथा समावेशी विकासमा विशेष योगदान पुर्‍याएको छ।

उक्त कार्यक्रम रानाथारु तीज कार्यक्रम तथा भलमन्सा समितिको आयोजनामा तथा लालझाडी गाउँपालिका वडा नं ३को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, समाजसेवी, शिक्षक, स्थानीय अगुवा र समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष रानाथारु तीज कार्यक्रम तथा भलमन्सा समितिका अध्यक्ष वीरेन्द्र राना रहनु भएको थियो। प्रमुख अतिथिको रूपमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना सहभागी हुनु भएको थियो। त्यस्तै विशिष्ठ अतिथिमा वडा नं ३ का वडा अध्यक्ष टिकाराम डगौरा, नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष डिठ्ठा राना, वडा सदस्य मोहन सिंह बड़ाएक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा सदस्य शान्ति राना, भलमन्सा रत्ती राना, फूल सिंह राना, मेघनाथ राना, विभिन्न सामुदायिक वनका अध्यक्षहरू, स्थानीय समाजसेवी तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले रानाथारु समुदायको मौलिक संस्कृति संरक्षण र परम्परागत मान्यताको पुनःस्थापना गर्ने विषयमा जोड दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य समिति सदस्य कमला रानाले प्रस्तुत गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक भोजराज रानाले गर्नु भएको थियो। सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत तीज गीत तथा नृत्यले कार्यक्रममा उत्साहजनक वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको समापनमा आयोजक समिति तथा स्थानीय जनप्रतिनिधिहरूले आगामी दिनमा अझ व्यवस्थित र व्यापक कार्यक्रमहरू मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए।