नरेश राना / कृष्णपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित मुक्त कमैया बस्तीको सामुदायिक भवन प्राङ्गणमा २५औं कमैया मुक्ति दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता खेंख्री मैया भलमंसा समाजका अध्यक्ष अमर सिंह चौधरीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सभासद् गीता चौधरीको उपस्थितिले कार्यक्रमलाई अझ गौरवपूर्ण बनायो। विशिष्ट अतिथिको रूपमा वडा नं. २ का वडा अध्यक्ष अर्जुन साउद तथा वडा सदस्य जीत बहादुर चौधरी सहभागी हुनुभएको थियो।
कार्यक्रमको शुभारम्भमा शिक्षक नवीन चन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमप्रति समर्थन जनाउनुभएको थियो।
कार्यक्रममा कमैया मुक्तिको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र अधिकार प्राप्तिका विषयमा विविध मन्तव्य प्रस्तुत गरिएका थिए। वक्ताहरूले अझै पनि मुक्त कमैयाहरूले पूर्ण रुपमा अधिकारको अनुभूति गर्न नसकेको र राज्यले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रम मा मुक्त कमैया जिल्ला अध्यक्ष राम प्रसाद राना वडा नं २ का संपूर्ण भल्मन्सा ,राना थारु को विभिन्न सांस्कृतिक नाच सँगै २५ औं कमैया मुक्ति दिवस सम्पन्न गराउनु भएको थियो।
सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय बालबालिकाद्वारा प्रस्तुत नृत्य र गीतहरूले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको थियो। कार्यक्रममा महिला, पुरुष, युवाहरुको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमको समापनमा सभाध्यक्ष अमर सिंह चौधरीले कमैया मुक्ति दिवस केवल उत्सवको विषय नभई सचेतना र सशक्तिकरणको अभियान भएको उल्लेख गर्दै, सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो।