कञ्चनपुर : लालझाडी गाउँपालिकाद्वारा करार कर्मचारीहरुकाे म्याद थप गर्ने निर्णय

२ श्रावण २०८२, शुक्रबार
कञ्चनपुर : लालझाडी गाउँपालिकाद्वारा करार कर्मचारीहरुकाे म्याद थप गर्ने निर्णय

कञ्चनपुरको लालझाडी गाउँपालिकाले पालिकाभित्र कार्यरत करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूको सेवा अवधि (म्याद) थप गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले २०८२साउन १ गतेदेखि लागू हुनेगरी ती कर्मचारीहरूको म्याद थप गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीद्वारा हस्ताक्षर गरिएको सूचनामा सम्बन्धित वडा कार्यालय र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई नियमित रूपमा हाजिरी गराई काममा खटाउन निर्देशन दिइएको छ।

“विगतदेखि करार तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका करार कर्मचारीहरूलाई निरन्तर सेवा दिने निर्णय भएकोले साउन १ गतेदेखि नियमित हाजिरी गराई कार्यमा खटाउन अनुरोध छ,” सूचनामा भनिएको छ।

पालिकाभित्रका वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा विगतदेखि विभिन्न प्राविधिक र सेवा सहायक कर्मचारीहरू करार तथा ज्यालादारी सेवामा कार्यरत रहेका छन्। सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले ती कर्मचारीहरूको म्याद थप गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जनाए।

यस निर्णयसँगै लालझाडी गाउँपालिकामा सेवा प्रवाह झनै नियमित, प्रभावकारी र सुदृढ हुने अपेक्षा गरिएको छ। स्थानीय तहमा जनशक्ति व्यवस्थापनका लागि समयमै निर्णय लिइनु प्रशासनिक चुस्तताको संकेतका रूपमा हेरिएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio