झलारी। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर एक मा रहेको सिँचाइ परियोजनका लागि प्रयोग भइरहेको पानी तान्ने मोटर चोरी कार्यमा संलग्न दुई युवाहरू पक्राउ परेका छन्। मोटर चोरेर लग्दै गर्दा स्थानीयले पक्राउ गरेका हुन्।
वार्ड नं १२ मा रहेको आँपघाट लिफ्ट सिँचाइ योजनामा पानी तान्न प्रयोग भइरहेको पाँच हर्षपावरको मोटर चोरी भएको थियो। चोरी कार्यमा संलग्नहरूलाई वडा नम्बर १२ मा रहेको झोलुङ्गे पुलमा मोटरसहित स्थानीयहरूले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। चोरेर मोटर लग्दै गर्दा झुलुङ्गे पुलमा मोटर तार्न नसकेपछि स्थानीयहरूले चोरहरूलाई रङ्गेहात पक्राउ गरेका थिए।
चोरी कार्यमा संलग्न लालझाडी बल्मिका रोशन राना र लालझाडी ५ देखतभुलिका सोलेमान राना लाई इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। इलाका प्रहरी कार्यालयका प्रमुख राजेश बस्नेतले शुक्रबार उनीहरूका नाममा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको बताउनुभयो।
बेलौरी देखतभुली र कृष्णपुर क्षेत्रमा मोटर चोरीका घटनाहरू बढेकाले चोरहरूको संलग्नता अन्य घटनामा पनि हुन सक्ने भन्दै प्रहरीले गहिरो अनुसन्धान गर्ने बताएको छ। मोटर चोरी कार्यमा संलग्न दुवै राना हरूको बयानका आधारमा लागू औषध सेवन तथा ओसारपसारमा पनि जोडिएकाले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।