नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिकामा कृषि शाखाको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। असार १५ गतेलाई “धान दिवस” को रूपमा मनाउने परम्पराअनुसार, यस वर्ष पनि ‘धान उत्पादनमा आधुनिक प्रविधिको प्रयोग, समृद्धिको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो।


कार्यक्रम अन्तर्गत किसान, कृषि प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागितामा रोपाइँ महोत्सव, खेतमा हिलो खेल, धानको बीउ तथा प्रविधि सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गरिएको थियो।

लालझाडी गाउँपालिकाका कृषि शाखा प्रमुख दशरथ साउदले किसानहरूलाई प्रोत्साहित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्। साथै, मौसमको अनिश्चितता, बाली नष्ट गर्ने कीरा तथा मलको अभाव जस्ता समस्याहरू समाधान गर्न कृषि शाखा कटिबद्ध रहेको बताएका छन्।

स्थानिय किसानहरूले यस कार्यक्रमबाट नयाँ जानकारी र उत्साह प्राप्त भएको प्रतिक्रिया दिएका छन्। किसानहरूलाई बीउ तथा प्रविधि सम्बन्धी तालिम दिने कार्यक्रम पनि आगामी दिनमा सञ्चालन गरिने जनाइएको छ।