पत्रकार कुँवरलाई समाचार लेखेको निहुँमा गालीगलौजदेखि ज्यान मार्ने धम्कीसम्म ।।

२०८२ असार १३, शुक्रबार ०९:२८
पत्रकार कुँवरलाई समाचार लेखेको निहुँमा गालीगलौजदेखि ज्यान मार्ने धम्कीसम्म ।।

कञ्चनपुर, १३असार । कञ्चनपुरकी एक पत्रकारलाई समाचार लेखेको निहुँमा गालीगलौजदेखि ज्यान मार्ने धम्कीसम्म आएको छ ।

पत्रकार महासङ्घ कञ्चनपुरकी सदस्य तथा आभाष डटकम र ए के थ्री फेसबुक पेजकी कार्यकारी सम्पादक ऐश्वर्या कुँवरले आफूलाई गायत्री टुर एण्ड ट्राभल्स कर्मचारीहरूले धम्की दिएको दाबी गरेकी छिन् ।

कुँवरका अनुसार केही दिनअघि महाराष्ट्रको एक ढावामा नेपाल-भारत आवागमनका यात्रुहरूलाई १२ घण्टासम्म अलपत्र पारिएको सम्बन्धी प्रमाणसहितको भिडियो सामग्री सार्वजनिक गरेपछि धम्की आउन थालेका हुन् ।

उनले यात्रुहरूकै आग्रहमा सार्वजनिक प्लेटफर्ममार्फत पीडाको आवाज उठाएको बताउँदै यो पत्रकारितामाथिको दबाब र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको आरोप लगाइन् ।

उनले भनिन्, “सम्पूर्ण प्रमाण र यात्रुको प्रतिक्रिया मसँग छन् । तथाकथित कर्मचारीहरूले मलाई बारम्बार फोन र म्यासेजमार्फत भिडियो हटाउन दबाब दिए, अपशब्द प्रयोग गरे र अन्ततः ज्यान मार्ने धम्कीसमेत दिए ।

” कुँवरले भारतीय मोबाइल नम्बर प्रयोग गर्दै बेङलोरबाट सञ्चालित खत्री समूह (जसमा जितेन्द्र खत्री, हर्कबहादुर बम, दीपक खड्का लगायत रहेका छन् ।) ले सामाजिक सञ्जालमार्फत समेत गालीगलौज र धम्की दिएको बताइन् ।

कुँवरको भनाइ अनुसार कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रनगरमा छ भने प्रमुख शाखा बेङलोर र अत्तरियाका प्रतिनिधिहरूले पनि भिडियो हटाउन अज्ञात व्यक्तिहरू प्रयोग गर्दै मानसिक त्रास सिर्जना गरेका छन् ।

यसअघि पनि कुँवरले जय मष्टा टुर एण्ड ट्राभल्स यात्रुहरूलाई भारतको चक्रपुरमा अलपत्र पारेको विषयमा रिपोर्टिङ गरेकी थिइन् । त्यसपछि सम्बन्धित पक्षले व्यवस्थापनमा चासो देखाएको र यात्रुहरू गन्तव्यसम्म पुगेको उनले बताइन् ।

कुँवरले आफूले सार्वजनिक गरेका सामग्रीमा कुनै भ्रम वा तथ्यहीनता नरहेको दाबी गर्दै गालीगलौज र धम्की दिने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीका लागि तयारी थालेको जनाएकी छन् ।

“पत्रकारमाथिको यस्तो व्यवहार लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र कानुनी शासन विपरीत हो । म यस विषयलाई अदालती प्रक्रियामा लैजाने छु,” उनले भनिन् । यस विषयमा गायत्री टुर एण्ड ट्राभल्स पक्षको धारणा लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

यात्रु सेवा भन्ने जिम्मेवारी बोकेको ट्राभल कम्पनीको गतिविधि र त्यसका बारेमा पत्रकारको सत्य रिपोर्टिङलाई दबाउन खोज्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो । कानुनी र संस्थागत तहमा यो घटना बारे आवश्यक कदम उठाउनुपर्ने देखिन्छ ।