नरेश राना / लालझाडी — नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोगमा सञ्चालित १८० घण्टे जुनियर फर्निचर मेकर उद्यमशीलता विकास तालिमको समापन आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
उक्त तालिम कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुर, चितवनद्वारा लालझाडी गाउँपालिका–२ मा सञ्चालन गरिएको थियो। तालिम समापन समारोहमा प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिका अध्यक्ष श्री निर्मल रानाज्यूको उपस्थिति रहेको थियो। सो अवसरमा वडा नं. २ का वडा अध्यक्ष श्री आसाराम राना र रोजगार शाखा प्रमुख श्री केशव राज पन्तले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

छ सप्ताहसम्म सञ्चालन गरिएको यस तालिममा ४० जना महिला र २० जना पुरुष, गरी ६० जनाको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य सहभागीहरूलाई फर्निचर निर्माणका सीप प्रदान गर्दै स्व–रोजगार र उद्यमशीलताको बाटो खोल्नु रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष रानाले भने, “हाम्रो गाउँमा युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्नु हाम्रो प्राथमिकता हो। यस्ता तालिमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ।”
सहभागीहरूले तालिमबाट काठको फर्निचर निर्माणका विविध पक्षहरू जस्तै—डिजाइन, कटिङ, जोइनिङ, पोलिसिङ र सुरक्षित कार्यपद्धति सम्बन्धी ज्ञान र व्यवहारिक अभ्यास हासिल गरेको जानकारी दिइएको छ।
तालिम सम्पन्न गरेपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै स्वरोजगार तथा सामूहिक उद्यमको सम्भावनाबारे पनि जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले स्थानिय स्तरमा सीपमूलक तालिम र स्वरोजगारको महत्वलाई पुनः उजागर गरेको छ।