धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १ बस्दै आएका ४७ वर्षिय चन्द्रसिंह चौधरीले आफ्नो पुर्खौली जमिन विद्यालयको नाममा दान गरिदिएका छन् ।

थारु अगुवा समेत रहेका चौधरीले शैक्षिक विकास, सामाजिक सचेतना तथा विद्यालयको स्थायी उन्नतीको लागि आफ्नो नाममा रहेको कैलारी गाउँपालिका ७ बसन्तास्थित २ विघा जमिन त्यहाँकै राष्ट्रिय आधारभूत विद्यालयलाई दान गरिदिएका हुन् ।

विद्यालयका प्राधानाध्यापक डम्मर शाहका अनुसार हाल सो जग्गाको मूल्यांकन ८० लाख बढी छ । सो जग्गा चौधरीले विद्यालयको नाममा दान स्वरुप उपलब्ध गराएका हुन् ।

बुवा फोनिराम चौधरी र आमा स्वर्गिय नोखिया देवी डंगौराको कोखबाट जम्मिएका शिक्षाप्रेमी चौधरीको जग्गा दानले विद्यालयलाई अतुलनीय योगदान पुगेको विद्यालयले जनाएको छ ।

यसैबीच विद्यालयले जग्गा दानवीर चौधरीलाई आइतबार एक कार्यक्रमका बीच विद्यालयमा भव्य स्वागत तथा सम्मान गरेको छ । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले दोसल्ला ओढाएर जग्गा दानवीर चौधरीप्रति सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

उनले भने, ‘यहाँ धन भएर मात्रै हुँदैन, मन पनि हुनुपर्छ । यो योगदानको लागि चन्द्रसिंहलाई मात्रै होइन, उहाँलाई उच्च संस्कारसहित हुर्काउनु हुने उहाँका पुर्खाहरुलाई पनि सम्मान गर्न चाहान्छु ।’

विद्यालयका प्रअ शाहले भने, ‘दिनप्रति दिन सामुदायिक विद्यालयको अवस्था खस्किरहेको अवस्थामा चन्द्रसिंह जस्तो दानवीर, दाताहरु जन्मिनु भनेको समाजको लागि यो भन्दा महत्वपूर्ण केही होइन । उहाँको दानले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अतुलनीय योगदान पुगेको छ ।’

जग्गा दानवीर चौधरीले सो विद्यालय आफूले शिक्षाको पाइला टेकेको विद्यालय रहेको बताउँछन् । उनले आफ्नो नामको लागि भन्दा गाउँघरको विद्यालयलाई कसरी सुधार गर्न सकिन्छ भनेर सहयोग गरेको बताँछन् ।

चौधरीले भने, ‘बसन्ता मेरो जन्म गाउँ हो । यो ठाउँमा जुन किसिमको शैक्षिक विकास हुनुपथ्र्यो । त्यो भएन । झन खस्किदै गएको छ । आफूलाई आर्थिक रुपमा केही सबल भएको महसुस भएपछि यहाँको विद्यालयको शैक्षिक अवस्था सुधार होस भनेर सहयोग गरेको हुँ ।’

सेयर कर दियो ।