धनगढी, कैलाली —
दोस्रो अन्तर्राष्ट्रिय रानाथारु भाषा साहित्य सम्मेलन २०२५ का सम्पूर्ण तयारीहरू सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ। रानाथारु समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिँदै आएको सम्मेलन यस वर्ष झन् व्यापक ढंगले सम्पन्न हुने भएको हो।

सम्मेलन यहि २०८२ साल वैशाखको १३ र १४ गते , कैलाली जिल्लाको धनगढीमा भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रममा नेपाल, भारत लगायतका रानाथारु भाषा विज्ञ, साहित्यकार, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहनेछ।

सम्मेलन आयोजक समितिका संयोजक पदम रानाले ले बताउनुभयो, “सम्मेलनका सम्पूर्ण व्यवस्थापन, पाहुना सत्कार, पत्र कार्य, प्रस्तुतिकरण, प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा भइसकेको छ। रानाथारु भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य हो।”

कार्यक्रममा रानाथारु भाषा सम्बन्धी अनुसन्धानपत्र प्रस्तुति, कविता तथा कथा वाचन, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गरिने छ। साथै, रानाथारु भाषामा प्रकाशित पुस्तकहरूको प्रदर्शनी पनि गरिनेछ।

स्थानीय सरकार, रानाथारू समाज तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा सम्मेलन सम्पन्न गरिँदैछ।