कृष्णपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा लागुपदार्थ दुर्वसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मंगलबार वडा स्तरीय विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम वडा स्तरीय बाल अधिकार सम्बन्धी अध्यक्ष पार्वती भट्टको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख द्रौपती राना रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना सहभागी हुनुभयो। साथै, वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, महिला तथा बालबालिका, नगरस्तरीय बाल क्लब तथा बाल सञ्जालका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि रानाले लागुपदार्थ दुर्वसनबाट जोगिन जनस्तरमै चेतना आवश्यक रहेको भन्दै स्थानीय सरकारको भूमिका प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकार जनहितमा सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो।

वडा अध्यक्ष घुम्न रानाले बालबालिकाको सुरक्षा हाम्रो सामूहिक कर्तव्य भएको उल्लेख गर्दै वडा सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य बाल क्लबका पदाधिकारी भक्तराज ओझाले राख्नुभएको थियो भने सञ्चालन निराजन जोशीले गर्नुभएको थियो। कार्यक्रममा बालबालिकाले प्रस्तुत गरेको जनचेतनामूलक नाटकले सबैको मन जितेको थियो। नाटकमा सहभागिता जनाएका बालबालिकालाई प्रमुख अतिथिद्वारा सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो।






