नरेश राना/कञ्चनपुर: भारतबाट भन्सार छली गरी भित्रिएको ठूलो मात्रामा अवैध चिनीसहितको बोलेरो जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
आज (शनिबार) बिहान करिब साढे २ बजेको समयमा कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।
गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको करिब १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको हो।
उक्त चिनी से. १ च १२२९ नम्बरको बोलेरो पिकअपबाट ओसारिदै थियो। कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने बर्ष ३० का जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १९ वर्षीय सहचालक बिशाल बडायकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।