नरेश राना/कञ्चनपुर, बैशाख १५ । बेलडाँडी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले बिभिन्न बहानामा शुल्क असुल्न थालेपछि पालिकाले नियन्त्रणको प्रयास थालेको छ।
बिहीबार गाउँपालिकाले एक सूचना जारी गर्दै माध्यमिक तहसम्म निशुल्क शिक्षा कायम गर्ने सरकारी नीति स्मरण गराएको छ।
पालिका भित्रका कतिपय सामुदायिक विद्यालयहरुले भर्ना तथा अन्य विभिन्न सेवाका नाममा अभिभावकहरुबाट शुल्क लिएको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
यहीँ बैशाख ११ गते बसेको गाउँपालिकाको बैठकअनुसार पालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०८० का लागि लिइएको रकम सम्बन्धित अभिभावकहरुलाई अबिलम्ब फिर्ता गर्न भनिएको छ।
‘अब उप्रान्त अन्य अभिभावकहरुबाट भर्ना शुल्क तथा विभिन्न सेवाको नाममा रकम नलिन अनुरोध छ,’ सूचनामा भनिएको छ। सामुदायिक विद्यालयहरुमा निशुल्क शिक्षा प्रदानका लागि गाउँपालिकाले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ।






