नरेश राना/कञ्चनपुर, ११ बैशाख। सुदूरपश्चिमलगायत देशैभर आज (सोमबार) वर्षाको सम्भावना रहेको छ। तराईका जिल्लामा हावाहुरी पनि आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

पूर्वदेखि पश्चिमसम्म जहाँ पनि पानी पर्नसक्ने मौसमविद् हरुले बताए। प्रिमनसुन भएकाले देशका सबै पहाडी भेगमा वर्षाको सम्भावना अलि बढी छ, तराईका पनि केही स्थानमा हल्का/क्षणिक खालको वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाको बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।