धनगढी, ०७ बैशाख । आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा धनगढीका १७ सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ। यी विद्यालयमा कक्षा ९ मा भर्ना हुन ग्रेडप्राप्त गर्न सफल नभएका तर दुई विषयमा ननग्रेड प्राप्त गरेका विद्यार्थीले भने बैशाख २९ र ३० ग्रेड वृद्धिको मौका परीक्षा दिन पाउने छन्। 

यस्तो छ शून्य नतिजा प्राप्त विद्यालयमा विद्यार्थीको संख्या

धनगढी-१ शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालयमा २५ छात्रा र १७ छात्र गरेर जम्मा ४२ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा सबैको ननग्रेड नतिजा आएको छ। यो विद्यालयमा पदमराज जोशी प्रधानाध्यापक छन्। धनगढी-१३ श्रीलंकामा रहेको नवज्योति आधारभूत विद्यालयमा २५ छात्रा र १५ छात्र सबै अनुत्तीर्ण भएका छन्। यो विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद भण्डारी हुन्।

धनगढी-१३ राजपुरको जनता राष्ट्रिय माध्यमिक विद्यालयमा ९ छात्रा र ९ छात्रसहित १८ जना विद्यार्थी सबैको एनजी ग्रेड आएको छ। यो विद्यालयका प्रधानाध्यापक रामप्रसाद फुलारा हुन्। धनगढी-६ मटियारीको भैरवबाबा आधारभूत विद्यालयका छात्रा १६ र छात्र  ९ सहित २५ जना विद्यार्थीमा सबैको ननग्रेड नतिजा आएको छ। यो विद्यालयका प्रधानाध्यापक  डबलबहादुर बम हुन्। धनगढी- ९  बंगराकटानको सरस्वती आधारभूत विद्यालयमका १० जना र वडा नम्बर ७ देवरियाको शिव माध्यमिक विद्यालयमा कूल ३३ विद्यार्थी रहेकामा सबै अनुत्तीर्ण भएका छन्। यी दुबै विद्यालयमा क्रमशः पशुपति ठाकुर र नन्दलाल राना प्रधानाध्यापक छन्।

धनगढी-१७ का दुई विद्यालयको नतिजा शून्य आएको छ। पथरीको भानु माध्यमिक विद्यालयका ६४ छात्रा र २९ छात्रसहित कूल ९३ विद्यार्थीमा सबैको ननग्रेड नतिजा आएको छ भने दमौलियाको सज्जन आधारभूत विद्यालयमा २२ छात्रा र ७ छात्र सबैको नतिजा ननग्रेड आएको छ। भानु माविमा चक्रबहादुर बिक र सज्जन आधारभूत विद्यालयमा देवराज ओझा प्रधानाध्यापक छन्।

धनगढी-१६ को एक विद्यालयको नतिजा शून्य आएको छ। भादाको दिपेन्द्र चारपाते माध्यमिक विद्यालयमा ७ छात्रा र ९ छात्र सबैको ननग्रेड नतिजा आएको छ। यो विद्यालयका प्रधानाध्यापक भागीराम चौधरी हुन्।

धनगढी-१४ फूलबारीको शिवशंकर आधारभूत विद्यालयमा जम्मा २५ जना (१६ छात्रा र ९ छात्र) विद्यार्थी रहेकामा सबैको नतिजा ननग्रेड आएको छ। यो विद्यालयका प्रधानाध्यापक लक्ष्मीराज ओझा हुन्। यस्तै, फूलबारी एच गाउँको सिद्धार्थ आधारभूत विद्यालयका १७ जनाकै ननग्रेड आएको छ। यो विद्यालयका प्रधानाध्यापक तेजबहादुर पाख्रीन हुन।

धनगढी-१८ को खप्तडी र ईन्द्रोदय आधारभूत विद्यालयमा क्रमशः ४२ र २३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको छ। खप्तडीमा दुर्गादत्त भुसाल र ईन्द्रोदयमा रामकुमार बस्नेत प्रधानाध्यापक छन्।

धनगढी-१९ को फूलबारी आधारभूत विद्यालयका ३० छात्रा र ३२ छात्रले कक्षा ८ को परीक्षा दिएकामा सबैको नतिजा ननग्रेड आएको छ। यो विद्यालयमा दुर्गादत्त पौडेल प्रधानाध्यापकको रुपमा कार्यरत छन्।

धनगढी-१२ को नवदुर्गा आधारभूत विद्यालयका १९ छात्रा र ८ छात्रले कक्षा ८ को परीक्षा दिएकामा सबैको नतिजा ननग्रेड आएको हो। यो विद्यालयमा हरिश्चन्द्र चौधरी प्रधानाध्यापक छन्। यस्तै, जुगेडाको दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयमा २२ छात्रा र १० छात्र सहित ३२ जना विद्यार्थीले परीक्षा दिएकामा सबैको ननग्रेड नतिजा आएको छ। यो विद्यालयमा मोहन भण्डारी प्रधानाध्यापक छन्।

धनगढी-१० को जनकल्याण माध्यमिक विद्यालय जुगेडाका ४० छात्रा र ३२ छात्र सहित ७२ जना परीक्षामा सम्मिलित भएकामा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन ग्रेड प्राप्त गरेनन्। यो विद्यालयमा तर्कराज जोशी प्रधानाध्यापक छन्। यस्तै, शून्य नतिजा ल्याउने एकमात्र संस्थागत विद्यालय मोडर्न स्कुलका १५ विद्यार्थी ननग्रेड भएका छन्।

यस्तो छ उत्तीर्ण विद्यार्थी संख्याका आधारमा विद्यालयको संख्या

कक्षा ८ को परीक्षामा केबल एक जना विद्यार्थी पास हुने विद्यालयको संख्या १३ छ भने २ जना मात्र उत्तीर्ण हुने विद्यालय ८ छन्। ३ जना विद्यार्थी पास हुने विद्यालयको संख्या ६ छ भने ४ जना मात्र उत्तीर्ण हुने विद्यालयको संख्या २ रहेको छ।

केबल ५ जना विद्यार्थी उत्तीर्ण हुने विद्यालय ७ छन् भने ६ र ७ जना मात्रै उत्तीर्ण हुने विद्यालयको संख्या २/२ रहेको छ।  ८, ९, र १० जना विद्यार्थी उत्तीर्ण हुने विद्यालयको ३/३ रहेको छ भने १० जना उत्तीर्ण हुने ३ र ११ जना विद्यार्थी पास गराउन सफल विद्यालयको संख्या ७ रहेको छ। १२ र सोभन्दा बढी विद्यार्थी पास हुने विद्यालयको संख्या ३२ रहेको उपमहानगरले तयार गरेको कक्षा ८ को वार्षिक परीक्षाको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।