धनगढी, २२ चैत । धनगढीमा मुख्य सडक निर्माणका लागि प्राविधिक मुल्यांकनको काम पुरा भएको छ। मुख्य सडक निर्माणका लागि प्राविधिक मुल्यांकनको काम सम्पन्न भएर आर्थिक प्रस्ताव खोल्ने सम्वन्धि सूचना सार्वजनिक गरिएको छ। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय कैलालीले पौष अन्तिम साता धनगढीको मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो।
बोलपत्र ३१ दिनपछि खोलिएको थियो। सडक निर्माणका लागि विड गर्ने पाटी ६ र पाटीभित्र पनि जेभी गरेर विभिन्न १० वटा निर्माण कम्पनीको आवेदन परेको थियो। कैलालीपुल–क्याम्पसरोड चौडा बनाउन परेका निवेदनमाथि मुल्यांकन गर्ने काम पुरा भएर आर्थिक प्रस्तावका लागि सूचना प्रकाशन गरिएको हो।
मुल्यांकनका क्रममा पूर्वाधार विकास कार्यालयलाई शंका लागेका विषयमा सम्वन्धित कार्यालयलाई सोध्ने काम भएको पूर्वाधार विकास कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले बताए। पूर्वाधार विकास कार्यालय कैलालीले आज राजधानी दैनिकमा प्राविधिक मुल्यांकनको काम सकेर कैलालीपुल–क्याम्पसरोड सडक बनाउन ७ दिनको आर्थिक प्रस्ताव (सुचना) प्रकाशन गरेको हो।
सूचनाअनुसार मिति २०७९ पौष २४ गते प्रकाशित इ–बिड मार्फत बोलपत्र आह्वान सम्वन्धि सूचनाअनुसार रितपूर्वक म्यादभित्र दर्ता हुन आएका बोलपत्रहरु खोली प्रस्ताव मुल्यांकन गर्दा सफल भएका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव २०७९ चैत २९ गते दिनको ठिक १ बजे पूर्वाधार विकास कार्यालय कैलालीमा खोलिने भन्दै सूचना सार्वजनिक गरिएको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को (बाह्रौ संसोधन २०७९ समेत)को नियम ३१ ज को उपनियम (५) र (६) को प्रयोजनार्थ आर्थिक प्रस्ताव सार्वजनिक गरिएको हो। सडक निर्माणका लागि बेदानश्री इन्फ्राटेक्चर प्रालि काठमाण्डौँ र केएस कन्ट्रस्कन प्रालि धनगढी छनोटमा परेका छन्। कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रका लागि सुदूरपश्चिम सरकारले ६६ करोड धनगढी उपमहानगरको आग्रहमा विनियोजन गरेको थियो।
धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रको १५ मिटर दायाँ र १५ मिटर बायाँका भौतिक संरचना हटाउने काम करिब सम्पन्न गरिसकेको छ। धनगढीको मुख्य सडकको सवारी जाम न्युनिकरण गर्न सडक चौडा गर्ने प्रक्रिया यसअघि नै थालिएको थियो। कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माण तथा कालोपत्रका लागि अब कुनै समस्या नभएको पूर्वाधार विकास कार्यालय कैलालीले बताएको छ।






