नरेश राना/कञ्चनपुर, २२ चैत। भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रका गाउँ नजिक बाघ देखिन थालेको छ। पछिल्लो सातायता पुनर्वास र बेलौरीका विभिन्न ठाउँहरुमा बाघ देखिएको छ।

गाउँमा बाघ देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। सीमा क्षेत्रमा बाघको आक्रमणमा परी एक नेपाली र एक भारतीय महिलाको मृत्यु भएको थियो।

गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका– १० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो। 

त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो।

दैनिकजसो गाउँ नजिक बाघ देखिन थालेपछि स्थानीय त्रसित बनेका हुन। स्थानीयहरुले ट्याक्टरको हर्न बजाएर बाघ धपाउने प्रयास गरेका छन्। 

बाघ गाउँमा पस्न नदिन स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन्।  पुनर्वास नगरपालिका– ४ शहिद गौतम चौक, पुनर्वास नगरपालिका–१०  भिमबस्ती, बसहिया, पिलर नं. २०२, २०३, २०४ क्षेत्र, भारतीय गाउँ, कृष्णनगर, खजुरिया र बेलौरी–कलकत्ता सडकमा बाघ देखिएको थियो।