नरेश राना/कञ्चनपुर, फागुन १६ । राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा कञ्चनपुरकाे लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा महाेत्सव हुन लागेको हाे ।


मंगलबार पत्रकार सम्मेलन गर्दै मञ्चले कार्यक्रम बारे जानकारी दिएकाे हाे । लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा महाेत्सव हुदैछ । राना थारु कला संस्कृतिकाे संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महाेत्सवकाे आयाेजना गर्न लागिएको मञ्चका अध्यक्ष नारायण रानाले बताए । कार्यक्रममा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिकाे प्रदर्शनी रहने आयाेजकले जनाएको छ । हाेलि पर्वकाे अन्त्य सँगै मनाईने खखडेहराकाे छुट्टै महत्व रहेकाे छ । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।