नरेश राना/कञ्चनपुर, पुष २० । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालीका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निमार्ण अलपत्र छ ।
पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निमार्ण हुन सकेको छैन । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनि राजेन्द्र कुमार श्रेष्ठ जेभी कैलालीसंग ठेक्का सम्झौता भएको थियो । २०७५ पुस २६ गते निमार्ण सम्पन्न गर्ने गरी सम्झौता भएपनि हालसम्म पुल निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्र्दै आउनुपरेको छ । सात वर्षदेखी खोलामा तिन वटा पिल्लर मात्रै छन । एउटा पिल्लरको काम अधुरै छ त्यो बाहेक अरु कुनै काम हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेशनमा समस्या देखिएपछि पुल निमार्ण समयमा सम्पन्न हुन नसकेको हो । डिभिजन सडक कार्यालय कञ्चनपुरका सुचना अधिकृत पियुष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बन्न mागेको बताउनुभयो । “पुलको फाउण्डेशनमा समस्या आएपछि अर्को स्थानमा पुल बनाउन निमार्ण कम्पनीलाई पत्राचार गरिसकेका छौ ।” उहाँले भन्नुभयो– “सडक कार्यालयले पटक पटक ताकेता गर्दा पनि निमार्ण कम्पनीले चासो नदेखाउदा निमार्णमा ढिलाई भएको हो ।” सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मापुलको काम सम्पन्न गरिसक्नु पर्ने समयसीमा भएपनि पछि २०८० असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भएपनि निमार्ण कम्पनीले हालसम्म पुल निमार्णको काम भने सुरु गरेको छैन ।
दोदा नदिमा पुल नहुँदा बर्षौदेखि यहाँका स्थानीयहरु आवत जावतमा समस्या झेल्दै आएका छन । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नु पर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केहि वर्ष अगाडी लालझाँडीका दुई जनाले ज्यान गुमाईसकेको यहाँका स्थानीय रघुवीर राना बताउँछन । नदी पारी बसाई र वारी खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर वर्षादमा नदी तर्न बाध्य रहेको उहाँले सुनाउनुभयो ।“पुल नहुँदा बर्खामा धेरै समस्या हुन्छ हाम्रो खेत वारी भएकाले आउन बाध्य हुन्छौ ।” उहाँले भन्नुभयो–“केही वर्ष अगाडी नदीले बगाएर दुई जनाको ज्यान गएको थियो ।”
त्यसैगरी स्थानीय शाहादेव रानाले पुल नहुदा बर्षौ देखी समस्या भोग्दै आएको बताउनुभयो । “पिल्लर बनेको चार÷पाँच वर्ष भयो अहिलेसम्म पुल बनेन ।” उहाँले भन्नुभयो–“हिउँदमा काठे पुलको साहाराले नदी वारपार गर्छौ ।” पुल निमार्णका लागी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कैलालीसंग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये निमार्ण कम्पनीले १४ करोड ८८ लाख रुपैया भुक्तानी लिइसकेको छ ।






